इन्टेलले तेस्रो त्रैमासिक नाफा अनुमानभन्दा बढी कमाउँदै लगानी र खर्च कटौतीका रणनीतिहरू सफल भएको देखाएको छ। सीईओ लिप–बु टानले सञ्चालन खर्चमा अत्यधिक कटौती गरेपछि कम्पनीको वित्तीय स्थिति सुधारिएको हो। नाफा सार्वजनिक भएपछि इन्टेलको सेयर मूल्य आफ्टर–आवर्स ट्रेडिङमा ७ प्रतिशतले बढेको छ।
यो घोषणा सान्ता क्लारास्थित कम्पनीका लागि पहिलो हो, जुन एनभिडिया, जापानको सफ्टबैंक र अमेरिकी सरकारको अभूतपूर्व लगानीपछि आएको हो।
लगानीकर्ताहरूले यसलाई कम्पनीका लागि ठूला नगद प्रवाहको संकेतका रूपमा हेरेका छन्। वित्त प्रमुख डेभ जिन्सनरले रोयटर्ससँग भनेका छन् कि सोफ्टबैंकको लगानी तेस्रो त्रैमासिकमा प्राप्त भएको हो तर एनभिडियाबाट आउने रकम अझै बाँकी रहेको रोयटर्सले उल्लेख गरेको छ।
यी लगानीहरू इन्टेलका लागि जीवनदायिनी मानिएका छन्। कम्पनीले एएमडी (AMD.O) सँगको प्रतिस्पर्धामा पीसी र सर्भर सीपीयू बजारमा आफ्नो वर्चस्व कायम राख्न संघर्ष गरिरहेको छ। यसैबीच, एनभिडियाद्वारा नेतृत्व गरिएको एआई चिप बजारमा प्रवेश गर्ने इन्टेलको प्रयास भने अहिलेसम्म सफल हुन सकेको छैन।
गत वर्ष यी चिन्ताका कारण इन्टेलको सेयर मूल्य करिब ६० प्रतिशतले घटेको थियो, तर सन् २०२५ मा कम्पनीमा भएका नयाँ लगानीका कारण सेयर मूल्य लगभग ९० प्रतिशतले बढेको छ। यसले इन्टेललाई एआई चिप बजारको अग्रणी एनभिडियाभन्दा पनि राम्रो प्रदर्शन गर्न मद्दत गरेको छ।
“बेहतरभन्दा अपेक्षित आय, खर्च र नाफा सुधार, एआई–पीसी बजारको उत्साह र १५ अर्ब डलरको नयाँ रणनीतिक लगानीका कारण सेयर मूल्य बढेको हो,” रनिङ पोइन्ट क्यापिटलका प्रमुख लगानी अधिकारी माइकल शुलमानले भनेका छन्।
इन्टेलले सन् २०१५ मा अल्टेरालाई १६.७ अर्ब डलरमा खरिद गरेको थियो तर यस वर्ष सेप्टेम्बरमा कम्पनीको ५१ प्रतिशत हिस्सा सिल्भर लेकलाई बिक्री गरेको थियो।
गत महिनामा एनभिडियाले इन्टेलमा ५ अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो, जसले नयाँ सेयर जारी भएपछि कम्पनीमा करिब ४ प्रतिशत हिस्सेदारी पाउनेछ। इन्टेलले अगस्टमा सोफ्टबैंकबाट २ अर्ब डलर जुटाएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगका सम्बन्धका कारण सीईओ टानको राजीनामा मागेपछि वासिङटनमा भएको आकस्मिक बैठकले असामान्य सम्झौता गरायो, जसअनुसार अमेरिकी सरकारले ८.९ अर्ब डलर लगानी गरी कम्पनीमा १० प्रतिशत हिस्सेदारी लिएको छ।
लगानीकर्तासँगको सम्मेलन कलमा टानले नयाँ गठन गरिएको केन्द्रीय इन्जिनियरिङ समूहले इन्टेलका आफ्नै चिप डिजाइनहरूलाई सरल बनाउने र बाह्य ग्राहकका लागि पनि कस्टम चिप डिजाइन सेवा दिने बताए।
यस क्षेत्रमा कम्पनीले ब्रोडकम र मार्भेल टेक्नोलोजीसँग प्रतिस्पर्धा गर्नेछ। यी दुवै कम्पनीहरू हाल गुगल र अमेजनजस्ता ग्राहकका लागि एआई चिप विकासमा सहयोग गर्दै आएका छन्।
