Technology Khabar ८ कार्तिक २०८२, शनिबार
काठमाडौं ।
पोर्शले १८ सिलिन्डर भएको नयाँ “स्पेस–अप्टिमाइज्ड” डब्लू-आकारको इन्टर्नल कम्बश्चन इन्जिनको लागि पेटेन्ट दर्ता गरेको छ।
पेटेन्टमा उल्लेख अनुसार, यो इन्जिनलाई आवश्यकता अनुसार “फरक संख्याका सिलिन्डर” सहित पनि बनाइ्न सकिन्छ। यसको अर्थ पोर्शले ९ वा १५ सिलिन्डर भएको इन्जिन पनि विकास गर्न सक्ने टेलिग्राफले उल्लेख गरेको छ।
यो पेटेन्टले पोर्शको वास्तविक डब्लू-आकारको इन्जिन देखाउँछ, जुन बुगाटीको अघिल्ला डिजाइनहरूभन्दा फरक छ। बुगाटी चिरोनमा दुई वटा साना भी आकारका ८–८ सिलिन्डर ब्लकहरू एउटै क्र्याङ्कशाफ्टमा आधारित थिए।
तर पोर्शको डिजाइनमा ठाडो इन्जिनहरू कोणमा राखिएका छन्, जसले साझा एक्सल प्रयोग गर्छन्। यस संरचनाले निकास पाइपलाई सिलिन्डरहरूको बीच र तल भागबाट निकाल्ने अनुमति दिन्छ, इनलेटहरू भने सिलिन्डरको माथि राखिन्छन् ताकि इन्जिनमा प्रवेश गर्ने हावा सकेसम्म चिसो रहोस्।
पेटेन्टका अनुसार, यस डिजाइनको मुख्य फाइदा भनेको “हावाको प्रवाहमा हुने घर्षण क्षति न्यूनतम हुनु” हो, साथै यसले “हावा प्रवेश र निकास प्रणालीबीच स्पष्ट भिन्नता” बनाउँछ, जसले तातो पर्खालको कारण तात्न सक्ने ताजा हावालाई जोगाउँछ।
चिसो हावाले “उपलब्ध प्रदर्शन क्षमतामा वृद्धि” ल्याउँछ। पोर्शले इन्जिनमा टर्बोचार्जर पनि जडान गर्न सकिने बताएको छ, जसले गर्दा तीन टर्बोचार्जरसहितको डब्लू-१८ इन्जिनलाई इनलाइन–सिक्स (छ-सिलिन्डर) इन्जिनको लम्बाइमा राख्न सकिन्छ।
यद्यपि यो पेटेन्ट आकर्षक देखिए पनि, पोर्शले यस्ता इन्जिन व्यावसायिक रूपमा उत्पादन गर्ने कुनै योजना बनाएको छैन। अटोमेकरहरूले प्रायः बौद्धिक सम्पत्तिको सुरक्षा गर्नका लागि पेटेन्ट दर्ता गर्छन्, भविष्यका उत्पादनका लागि होइन।
पेटेन्टमा इन्जिनको विस्थापन वा शक्ति क्षमताबारे कुनै विवरण दिइएको छैन, तर १८ सिलिन्डर र तीन टर्बोचार्जरसहितको इन्जिनले उच्च शक्ति दिने निश्चित छ।
विद्युत् सवारीमा जोड दिँदै आएका अटोमेकरहरूले इन्धन–इन्जिन सवारीलाई पूर्ण रूपमा छोडेका छैनन्। पोर्शको आगामी अल्ट्रा–लक्जरी एसयूभी पनि पूर्ण रूपमा विद्युतीय नभई हाइब्रिड संस्करणमा आउनेछ, र नयाँ पेट्रोल–चालित ७१८ मोडेलहरू पनि आउने पुष्टि भइसकेको छ। त्यसैले नयाँ डब्लू-१८ इन्जिन सम्भावनाबाहिर छैन।
प्रकाशित: ८ कार्तिक २०८२, शनिबार