क्लाउडफ्लेयरका सीईओ म्याथ्यु प्रिन्सद्वारा गुगलको सर्च र एआई क्रलर अलग गर्न बेलायतको नियामकलाई दबाब

Technology Khabar ७ कार्तिक २०८२, शुक्रबार

काठमाडौं ।

क्लाउडफ्लेयरका सीईओ म्याथ्यु प्रिन्सले बेलायतको नियामक निकायलाई गुगलको सर्च र एआई क्रलर अलग गर्न दबाब दिइरहेका छन्।

यस वर्षको सुरुवातमा वेबसाइटहरूलाई आफ्नो सामग्री स्क्र्याप गर्ने एआई बोटहरूबाट शुल्क लिने सुविधा दिने मार्केटप्लेस सुरु गरेपछि वेब इन्फ्रास्ट्रक्चर प्रदायक कम्पनी क्लाउडफ्लेयरले एआई क्षेत्रमा कडा नियमनको माग गरेको हो।

टेकक्रञ्चका अनुसार कम्पनीका प्रमुख कार्यकारी म्याथ्यु प्रिन्सले लन्डनस्थित बेलायतको प्रतियोगिता तथा बजार प्राधिकरण (सीएमए) सँग भेट गर्दै गुगलको सर्च क्षेत्रमा रहेको प्रभावलाई ध्यानमा राखी एआई प्रतिस्पर्धामा उसलाई कडाइका साथ नियमन गर्नुपर्ने प्रस्ताव राखेका छन्।

सीएमएले यस महिनाको सुरुमा सर्च र विज्ञापन बजारमा गुगलको ‘मजबुत र जरा गाडिएको’ स्थिति भन्दै उसलाई विशेष दर्जा दिएको थियो। यस कदमपछि नियामकले गुगलमाथि खोज र विज्ञापनका क्षेत्रमा मात्र नभई एआई ओभरभ्यू, एआई मोड, डिस्कभर फिड, टप स्टोरीज र न्युज ट्याब जस्ता क्षेत्रमा समेत कडा नियम लागू गर्न सक्ने भएको छ।

प्रिन्सका अनुसार क्लाउडफ्लेयरले प्रत्यक्ष रूपमा एआई व्यवसाय नगरे पनि धेरै एआई कम्पनीहरूसँगको सम्बन्धका कारण सिफारिस गर्न उपयुक्त स्थिति राख्छ।

“हाम्रो प्रत्यक्ष हित छैन। हामी एआई कम्पनी होइनौं,” उनले यस हप्ता लन्डनमा आयोजित ब्लूमबर्ग टेक सम्मेलनमा भने। “हामी मिडिया प्रकाशक पनि होइनौं, तर हामी ती दुवैबीचको सञ्जाल हौं — ८० प्रतिशत एआई कम्पनीहरू हाम्रा ग्राहक हुन्,” उनले थपे।

प्रिन्सका अनुसार गुगलले अन्य एआई कम्पनीहरूसँग बराबरीका आधारमा प्रतिस्पर्धा गर्नुपर्छ, तर अहिले त्यो भइरहेको छैन। उनले भने, “गुगलले आफ्नो विद्यमान वेब क्रलर प्रयोग गरेर एआई उत्पादन र सेवाका लागि सामग्री सङ्कलन गर्छ, जुन उसको सर्च इन्जिनमा पनि प्रयोग हुन्छ। यसले गुगललाई अनुचित लाभ दिन्छ।”

गुगलको सर्चका लागि प्रयोग हुने ‘गुगलबोट’ एआई ओभरभ्यूज जस्ता एआई सुविधाका लागि पनि सामग्री क्रल गर्छ। गुगलका प्रवक्त्ता नेड एड्रियान्सका अनुसार साइट मालिकहरूले ‘गुगल एक्सटेन्डेड’ प्रयोग गरेर आफ्नो सामग्री एआई तालिमका लागि प्रयोग हुन नदिने विकल्प पाउन सक्छन्, जसले साइटको सर्चमा उपस्थितिलाई असर गर्दैन। तर धेरै मिडिया कम्पनीहरू पूर्ण रूपमा एआई सुविधाबाट अलग रहन चाहन्छन्।

प्रिन्सले भने, “गुगल भन्छ, ‘हामीले संसारभरको सबै सामग्री प्रयोग गर्ने अधिकार पाएका हौं, चाहे त्यसका लागि तिर्नु नपरे पनि, किनभने हामीले पछिल्ला २७ वर्षमा यो गरेको छौं।’ उनीहरू भन्छन्, हामीले सर्चका लागि प्रयोग गरेको क्रलर नै एआई प्रणालीका लागि पनि प्रयोग गर्न सक्छौं, र यदि तपाईं एउटा सुविधाबाट बाहिरिन चाहनुहुन्छ भने दुवैबाट बाहिरिनुपर्छ।”

प्रकाशित: ७ कार्तिक २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया