एप्पलले ल्यायो लिक्विड ग्लासलाई कस्टमाइज गर्न सजिलो बनाउने नयाँ फिचर

Technology Khabar ६ कार्तिक २०८२, बिहीबार

काठमाडौं ।

एप्पलले लिक्विड ग्लासलाई आफूलाई मनपर्ने  रूपमा कस्टमाइज गर्न सजिलो बनाउने नयाँ फिचर सार्वजनिक गरेको छ। अब प्रयोगकर्ताले मोबाइल र डेस्कटप अपरेटिङ सिस्टमको नयाँ बीटा अपडेटमार्फत लिक्विड ग्लासको रूप ‘क्लियर’ वा ‘टिन्टेड’ मध्ये कुनै एक रोज्न सक्ने भएका छन्।

यो सुविधा थपिएकोले एप्पलले आईओएस २६, आईप्याडओएस २६ र म्याकओएस २६ सार्वजनिक गरेपछि सुरुवाती चरणमै प्रयोगकर्ताको सुझावलाई ध्यानपूर्वक सुनेको देखाउँछ। एप्पलले सामान्यतः ठूलो स्तरका परिवर्तन ल्याउने गर्छ, तर नयाँ परिवर्तनमा अभ्यस्त हुन गाह्रो भएका प्रयोगकर्ताका लागि विकल्प राख्ने परम्परा पनि छ।

सन् २०२१ मा सफारीको एड्रेस बार तल सार्दा पनि त्यस्तै भएको थियो। त्यसबेला प्रयोगकर्ताबाट आलोचना आएपछि एप्पलले एड्रेस बारलाई माथि फर्काउने विकल्प दिएको थियो। अहिले कम्पनीले लिक्विड ग्लासमा पनि त्यस्तै नीति अपनाएको छ।

टेकक्रञ्चका अनुसार आईओएस र अन्य एप्पल अपरेटिङ सिस्टमसँगै आएको नयाँ युजर इन्टरफेस सन् २०१३ पछि आएको सबैभन्दा ठूलो डिजाइन परिवर्तन हो। यस्ता ठूला परिवर्तनहरूसँग सधैं सबै प्रयोगकर्ता सहमत हुँदैनन्। केहीले लिक्विड ग्लासको कारण सूचनाहरू वा एपका नेभिगेसन नियन्त्रणहरू पढ्न कठिन भएको बताएका छन् भने अन्यले यसले इन्टरफेसलाई आधुनिक र आकर्षक बनाएको बताएका छन्।

यी फरक प्रतिक्रियाबीच एप्पलले अब लिक्विड ग्लासको रूप चयन गर्ने अधिकार प्रयोगकर्तालाई नै दिएको छ।

९टु५म्याकका अनुसार नयाँ फिचर आईओएस २६.१ बीटा ४ मा थपिएको हो, जससँगै ट्याबलेट र डेस्कटपका लागि पनि अपडेट आएको छ। टेकक्रञ्चलाई दिएको प्रतिक्रियामा एप्पलले बीटा परीक्षण अवधिमा केही प्रयोगकर्ताले लिक्विड ग्लासलाई बढी अपारदर्शी बनाउन चाहेको बताएपछि यो विकल्प थपिएको जनाएको छ। यो फिचर आईओएस २६.१, आईप्याडओएस २६.१ र म्याकओएस २६.१ मा उपलब्ध हुनेछ।

यो फिचर प्रयोग गर्न बीटा प्रयोगकर्ताले “सेटिङ्स” भित्रको “डिस्प्ले एण्ड ब्राइटनेस” मेनुमा गएर नयाँ “लिक्विड ग्लास” विकल्प भेट्न सक्छन्। म्याकमा यो “सिस्टम सेटिङ्स” को “अपियरन्स” मेनुमा उपलब्ध छ। प्रयोगकर्ताले यहाँ ‘क्लियर’ र ‘टिन्टेड’ दुई विकल्पमध्ये एक रोज्न सक्छन्। टिन्टेड विकल्पले इन्टरफेसका तत्वहरूलाई बढी स्पष्ट देखिने बनाउँछ।

केही प्रयोगकर्ताले अपारदर्शिताको स्तर नियन्त्रण गर्न स्लाइडर चाहेको बताएका थिए, तर एप्पलले दुई निश्चित स्तरका टगल विकल्प मात्र उपलब्ध गराएको छ। एप्पलका अनुसार लिक्विड ग्लास प्रयोग गरेका सबै एपहरूमा प्रयोगकर्ताले रोजेको सेटिङ स्वचालित रूपमा लागू हुनेछ। विकासकर्ताले यो फिचर हालैको २६.१ डेभलपर बीटामा परीक्षण गर्न सक्छन्।

रोजिएको विकल्प लागू भएपछि प्रयोगकर्ताले “नाउ प्लेइङ” कन्ट्रोलहरू, लकस्क्रिनका सूचनाहरू, र एप्पलका आफ्ना तथा तेस्रो पक्षका एपहरूमा इन्टरफेसमा परिवर्तन देख्न सक्नेछन्। विकासकर्ताका लागि यो बीटा अपडेट आजदेखि उपलब्ध भएको छ भने सार्वजनिक बीटा केही दिनभित्रै आउने अपेक्षा गरिएको छ।

प्रकाशित: ६ कार्तिक २०८२, बिहीबार

तपाइको प्रतिक्रिया