अब स्पोटिफाईमा एआई डीजेसँग मेसेजमार्फत् कुरा गर्न सकिने

  • Technology Khabar | ३१ आश्विन २०८२, शुक्रबार
अब स्पोटिफाईमा एआई डीजेसँग मेसेजमार्फत् कुरा गर्न सकिने

काठमाडौं ।

स्पोटिफाईले बुधबार आफ्नो एआई डीजे सुविधामा नयाँ सुधार गरेको छ जसअन्तर्गत अब प्रयोगकर्ताले बोल्ने मात्र नभई टाइप गरेर पनि गीतको अनुरोध गर्न सक्नेछन्। यो सुविधा प्रिमियम सदस्यहरूको लागि उपलब्ध छ।

नयाँ अपडेटले अंग्रेजीका साथै स्पानिश भाषामा पनि सन्देश पठाउन सकिने बनाएको छ। स्पोटिफाईको स्पानिश भाषाका लागि बनाइएको ‘डीजे लिभी’ अब प्रयोगकर्ताबाट संगीत अनुरोध स्वीकार गर्न सक्छ।

यसअघि यो वर्षको सुरुमा स्पोटिफाईले एआई डीजेमा आवाजमार्फत अनुरोध गर्ने सुविधा थपेको थियो, तर त्यो केवल अंग्रेजी संस्करणमा मात्र उपलब्ध थियो। अब भने टेक्स्ट सन्देशको विकल्प पनि थपिएको टेकक्रञ्चले उल्लेख गरेको छ।

च्याटजीपीटी र जेमिनीजस्ता एआई च्याटबोटहरूको लोकप्रियतासँगै, सन्देशमार्फत एआई सहायकसँग कुरा गर्ने चलन सामान्य बन्दै गएको छ। यस्ता सेवाहरूले आवाज, लेखाइ वा फाइल अपलोड गरेर पनि अनुरोध गर्न दिने सुविधा दिन्छन्। यही प्रवृत्तिलाई ध्यानमा राख्दै एप्पलले पनि आफ्नी सिरि सहायकलाई टेक्स्टमार्फत पहुँचयोग्य बनाएको छ।

स्पोटिफाईका प्रयोगकर्ताहरू प्रायः यात्रा, कार्यालय वा सार्वजनिक स्थानमा हुने भएकाले बोल्ने आदेश दिन असजिलो हुने परिस्थितिमा टाइप गरेर अनुरोध पठाउने सुविधा स्वाभाविक रूपमा थपिएको हो।

नयाँ टेक्स्टिङ सुविधासँगै स्पोटिफाईले एआई डीजेले अब प्रयोगकर्तालाई व्यक्तिगत सुझावहरू पनि दिने बताएको छ, जसले “के सुन्ने भन्ने निश्चित नभएका” प्रयोगकर्तालाई प्रेरणा दिनेछ।

डीजे प्रयोग गर्नका लागि स्पोटिफाईमा ‘डीजे’ खोजी गरेर प्ले थिच्नुपर्छ। त्यसपछि तपाईँको मनपर्ने गीतहरूको छनोट सुरु हुन्छ। संगीत परिवर्तन गर्न चाहँदा, स्क्रिनको दायाँतर्फको तल्लो भागमा रहेको डीजे बटन थिचेर आवाज वा सन्देशमार्फत सुझाव दिन सकिन्छ।

स्पोटिफाईका अनुसार एआई डीजेले संगीतको विधा, मूड, कलाकार वा गतिविधि मिश्रित अनुरोधहरू पनि बुझ्न सक्छ। यो सुविधा हाल अंग्रेजी र स्पानिश भाषामा विश्वका ६० भन्दा बढी बजारमा उपलब्ध छ।

प्रकाशित: ३१ आश्विन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...