यातायात विभागको सेवा अब तिहारपछि मात्र

Technology Khabar ३० आश्विन २०८२, बिहीबार

काठमाडौं ।

यातायात व्यवस्था विभागले तिहारपछि मात्र सेवा नियमित सञ्चालन गर्ने भएको छ। भदौ २३२२४ गतेको जेनजी आन्दोलनमा आगजनी गरिँदा सबै सेवा ठप्प भएको यातायात व्यवस्था विभागले तिहारपछि सेवा नियमित सञ्चालन गर्ने भएको छ। पुरानो पार्किङ खुला स्थलबाट सेवा सुरु गरेको विभागले तिहारपछि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण र नयाँ आवेदन खुला गर्ने तयारी गरेको हो।

अनलाइनमा भएका डाटाबाहेक केही पनि बाँकी नरहेकाले सेवा सञ्चालन गर्न ढिला भएको विभागका महानिर्देशक राजीव पोखरेलले बताए। “लाइसेन्स प्रिन्टरदेखि कुनै पनि भौतिक सामान बाँकी रहेनन्,” उनले भने, “तिहारपछि नवीकरण र नयाँ लाइसेन्सको प्रक्रिया सुरु गछौं। त्यसका लागि पुरानो डाटा हेर्नुका साथै प्रिन्टरदेखिका सबै सामान जोहो गरिरहेका छौं।”

लाइसेन्स छपाइ भने तत्काल सुरु नहुने विभागले जनाएको छ। छपाइ कार्ड र प्रिन्टरको नयाँ खरिद प्रक्रियामा जानुपर्ने भएकाले तिहारपछि कम्तीमा तीन महिना लाग्ने बताइएको छ। महानिर्देशक पोखरेलले भने, “प्रिन्टर व्यवस्थापन गर्न सबै नयाँ प्रक्रियामा जानु पर्छ। तिहारपछि तीन महिना थप लाग्छ।”

तत्कालका लागि अत्यावश्यक सेवा प्रवाह गर्न एनआरएनएसँग प्रिन्टर सहयोग मागेको विभागले जनाएको छ। अनलाइन सेवा सञ्चालन गर्न पनि नयाँ प्रक्रियामा जानुपर्ने विभागको भनाइ छ। मेसिन र कम्प्युटर नष्ट भएकाले सबै सामान जोहो गर्नुपर्ने विभागका सूचना अधिकारी गणेशमानसिं राईले जानकारी दिए।

विभागको डाटा भण्डारणमा पनि क्षति भएको छ तर अधिकांश डाटा भने सुरक्षित रहेको राईले जानकारी दिए। उनले भने, “आन्दोलन हुनुभन्दा केही दिनअघिसम्मको डाटा म्यानुअल्ली ब्याकअप गरेर राखिएको थियो। त्यसो भएको हुनाले डाटा छ भन्नेमै छौं।”

आगलागीबाट लाइसेन्स वितरण, दर्ता र नवीकरण प्रणालीमा ठूलो क्षति भएको छ। विभागका अनुसार प्रारम्भिक क्षति करिब चार अर्ब रुपियाँबराबर भएको अनुमान छ। सबैभन्दा धेरै क्षति इम्बोस्ड नम्बर प्लेटमा भएको बताउँदै राईले भने, “इम्बोस्ड नम्बर प्लेटको प्लान्ट र झन्डै आठ लाख प्लेट नष्ट भएका छन्।”

जलेर पूर्ण नष्ट भएको विभागको भवन मर्मतका लागि पनि विभिन्न सङ्घ संस्थाको सहयोग लिइएको छ। मर्मतका लागि नेपाल ट्रक व्यवसायी महासङ्घ र नेपाल अटो मोबायल्स इम्पोर्ट्सले सहयोग गरेका छन्। रङरोगनका लागि सिप्रदी ट्रेडिङले सहयोग गर्ने भएको छ।

आजको गोरखापत्रबाट

प्रकाशित: ३० आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया