Technology Khabar २८ आश्विन २०८२, मंगलवार
काठमाडौं ।
बाजुराको खप्तड छेडेदह गाउँपालिका-१, काँडाको तल्लो क्षेत्रमा टेलिफोन नेटवर्क नलाग्दा स्थानीय हैरान भएका छन्। अछाम बझाङ र डोटी जिल्लाको सिमानामा रहेको यो गाउँमा स्थानीयले १८ वर्षदेखि अहिलेसम्म नेटवर्कको समस्या भोग्दै आएका छन्।
बाजुराका अन्य ठाउँमा फोरजी सेवा सञ्चालन भए पनि यहाँ भने अहिलेसम्म पनि फोनसमेत चल्दैन। टावरले नेटवर्क राम्रोसँग टिप्न नसक्दा यहाँका स्थानीयले टाढा रहेका आफन्तसँग फोन गर्नु परेमा अहिले पनि अग्लो डाँडामा गएर कुरा गर्नु परिरहेको छ।
घाम लागेको बेलामा फाटफुट रूपमा फोन लाग्ने र पानी परेको बेला फोन नलाग्ने गरेको वडाध्यक्ष वीरबहादुर रावलले बताए। उनले भने, “अहिले वडामा अधिकांश सबै काम अनलाइनमार्फत गर्नुपर्ने हुन्छ। त्यसका लागि कार्यालयमा वाइफाईको अति आवश्यक रहेको छ तर हाम्रो वडा वाइफाई त के फोन गर्नसमेत अझै अग्लो डाँडामा जानु पर्छ।”
वडा कार्यालयमा विद्युत् सेवा भए पनि गाउँनजिक टेलिकमको टावरको व्यवस्था नहुँदा वडामा आउने सेवाग्राहीलाई अनलाइनबाट हुने सेवा दिन निकै समस्या हुने गरेको अध्यक्ष रावलले बताए।
खप्तड छेडेदह गाउँपालिका सात वडामध्ये वडा नम्बर-१ काँडा र २ जयवागेश्वरी वारिपारिमा रहेका छन्। यो समस्या काँडामा मात्र नभएर वडा नम्बर-२ जयवागेश्वरीको पनि उस्तै रहेको छ। त्यहाँ पनि राम्रोसँग फोन लाग्दैन। फोन लागे पनि राम्रोसँग कुरा गर्न मिल्दैन। एक/दुई मिनेट कुरा गरेपछि फेरि फोनसमेत काटिहाल्छ।
बाजुराको त्रिवेणी नगरपालिका-४, तोलीमा रहेको नेपाल टेलिकमको टावरको भरमा काँडाका अधिकांश ठाउँमा फोन लाग्ने गरेको छ। घाम लागेको दिनमा कतै कतै फोन लाग्ने गर्छ भने पानी परेको दिनमा त्यो फोन पनि लाग्दैन।
यहाँ झन्डै ३५ किलोमिटरभन्दा टाढा रहेको यो टावरले त्यहाँ राम्रोसँग काम गर्दैन। काँडाका स्थानीयलाई नेटवर्कको राम्रो सुविधा दिनका लागि यहाँका धौलछडामाथिको डाँडामा टावर हुनुपर्ने स्थानीय पुरन रावलले बताए।
खप्तड छेडेदह गाउँपालिका-१, काँडाको चार हजार आठ र व नम्बर-२. जयवागेश्वरीमा दुई हजार ८६४ को बसोबास छ। नेपाल टेलिकम बाजुरा शाखाले त्यो समस्या अहिलेको नभई पुरानै रहेको जनाएको छ।
त्यसका लागि त्यहाँनजिक एउटा नयाँ टावर थप गर्नुपर्ने नेपाल टेलिकम जिल्ला शाखा बाजुराका प्रमुख ईश्वर सिंहले बताए। उनले भने, “हामीलाई त्यस वडा कार्यालयले नेपाल टेलिकमको टावर थप गरिपाउँ भनेर निवेदन दिनु पर्छ। त्यसैका आधारमा हामी पनि डडेलधुरा र अत्तरिया शाखालाई सिफारिस गरिदिन्छौं। त्यस ठाउँमा टावर थप्ने भनेपछि आफूहरु लगत्तै त्यहाँ सर्भे गरेर टावर स्थापना गर्ने सिंहले बताए।
प्रकाशित: २८ आश्विन २०८२, मंगलवार