Technology Khabar २६ आश्विन २०८२, आईतवार
काठमाडौं ।
जेनजी’ आन्दोलनमा ‘डिजिटल प्लेटफर्म’ मार्फत भइरहेका गलत र मिथ्या सूचना प्रवाहबारे सबै सचेत हुनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन्।
नेपाल एफएम नेटवर्कको आयोजनामा आज यहाँ भएको ‘भ्रामक र मिथ्या सूचनाको चुनौती : लोकतन्त्र, नागरिक अधिकार र युवा समुदायमा पार्ने प्रभाव, जोखिम र यसका असर’ विषयक छलफलमा सरोकार भएकाहरूले सूचना प्रवाहलाई मर्यादित बनाउनुपर्नेमा जोड दिए।
छलफलमा राष्ट्रियसभा सदस्य गोपाल भट्टराईले जेनजी प्रदर्शनका क्रममा सामाजिक सञ्जालको दुरुपयोग गरेर गलत सूचना फैलाउँदा धेरै भयावहको स्थिति उत्पन्न भएको बताए।
राष्ट्रियसभा सदस्य गङ्गा बेलबासेले समयमै सामाजिक सञ्जाल व्यवस्थापनसम्बन्धी विधेयक नल्याउँदा प्रदर्शनका क्रममा भ्रम फैलाउन सहयोगी अवस्था बनेको धारणा राखे।
नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले मिथ्या सूचनालाईं बढावा दिने गतिविधिलाई समयमै नियमन गर्न आवश्यक रहेको धारणा राखे। डिजिटल मिडियाविज्ञ प्रवेश सुवेदीले सूचनाको गलत बुझाइ र दुरुपयोगले सानो घटनाले पनि ठूलो रूप लिइरहेको बताए। सङ्कटका बेला सूचनाको दुरुपयोग गर्ने समूह बढ्ने भएकाले सूचनाको सहि र पारदर्शी सम्प्रेषण गरिनुपर्नेमा उनको जोड थियो। रासस
प्रकाशित: २६ आश्विन २०८२, आईतवार