क्लिप्स एप बन्द गर्दै एप्पल

Technology Khabar २७ आश्विन २०८२, सोमबार

काठमाडौं ।

एप्पलले आफ्नो क्लिप्स एपलाई अन्त्य गर्दै गएको छ। कम्पनीले एप स्टोरबाट क्लिप्स हटाएको छ र अब यसमा कुनै नयाँ अपडेट नआउने जनाएको छ। एप्पलको वेबसाइटमा प्रकाशित समर्थन पृष्ठअनुसार, अक्टोबर १० बाट नयाँ प्रयोगकर्ताका लागि क्लिप्स डाउनलोड गर्न उपलब्ध छैन। तर पहिले नै एप प्रयोग गरिरहेका प्रयोगकर्ताले यसलाई अहिलेका वा पुराना आईओएस र आईप्याडओएस संस्करणमा प्रयोग गर्न सक्नेछन्। आवश्यक परे उनीहरूले आफ्नै एप्पल खाताबाट पुनः डाउनलोड पनि गर्न सक्नेछन्।

टेकक्रञ्चका अनुसार अपडेटहरू बन्द भएपछि समयसँगै क्लिप्स प्रयोग गर्न कठिन हुन सक्ने भएकाले एप्पलले प्रयोगकर्तालाई आफ्ना क्लिप्स भिडियोहरू (इफेक्टसहित वा बिना) फोटो लाइब्रेरीमा डाउनलोड गर्न आग्रह गरेको छ।

सन् २०१७ मा सुरू गरिएको क्लिप्स एपलाई सुरुवातमा स्न्यापच्याट र इन्स्टाग्राम स्टोरीजको विकल्पको रूपमा हेरिएको थियो। यो सामाजिक सञ्जाल भने होइन, तर यसले प्रयोगकर्तालाई फिल्टर, इमोजी र संगीतसहित फोटो तथा भिडियो जोड्न सुविधा दिन्थ्यो।

टेकक्रन्चका पत्रकार ब्रायन हिटरले सुरुवातमा क्लिप्सको भिडियो सम्पादन क्षमता अत्यन्त साधारण रहेको बताएका थिए र यसले एप्पलका हार्डवेयर तथा सफ्टवेयर क्षमताको प्रदर्शन गर्ने एउटा माध्यम बन्न सक्ने बताएका थिए। म्याकरुमर्सका अनुसार एप्पलले क्लिप्समा सुरुवाती वर्षहरूमा केही नयाँ विशेषता थपेको भए पनि पछिल्ला वर्षहरूमा अपडेटहरू केवल बग फिक्समा सीमित भएका थिए।

रेडिटका एप्पल प्रशंसकहरू यस समाचारप्रति खासै आश्चर्यचकित भएका छैनन्। धेरैले उक्त एप वर्षौँअघि मात्र प्रयोग गरेको वा सुनेको मात्र बताएका छन्। साथै, वास्तविक भिडियोमा आधारित क्लिप्स एप अहिलेको ओपनएआईको जेनरेटिभ एआई भिडियो एप सोराजस्तो नयाँ प्रविधिको तुलनामा केही पुरातन देखिएको टिप्पणी पनि गरेका छन्।

प्रकाशित: २७ आश्विन २०८२, सोमबार

तपाइको प्रतिक्रिया