नवप्रवर्तनका क्षेत्रमा उच्चकोटीको काम गर्न नास्टका कर्मचारीलाई मन्त्री पुनको निर्देशन

Technology Khabar २३ आश्विन २०८२, बिहीबार

नवप्रवर्तनका क्षेत्रमा उच्चकोटीको काम गर्न नास्टका कर्मचारीलाई मन्त्री पुनको निर्देशन
फाइल तस्बिर

काठमाडौं ।

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री महाबिर पुनले बुधबार नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टका पदाधिकारीहरुसँग भेटघाट गरी नास्टलाई उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने सुझाव यसै हप्ताभित्र दिन त्यहाँ कार्यरत सबैलाई निर्देशन दिएका छन्।

२ घण्टा सम्म छलफल र ल्यावहरु अवलोकन गरेका पुनले सामाजिक सञ्जाल एक्समा जानकारी राख्दै ३७ करोड बजेटमा २७ करोड रुपैयाँ प्रशासनिक र १० करोड रुपैयाँ अनुसन्धान र नवप्रवर्तनमा छुट्याएको साथै भवन र ल्यावहरु उच्च कोटीका रहेका पाइएको बताएका छन्। यसै क्रममा मन्त्री पुनले भवन र ल्याब अनुसारको उच्चकोटीको काम हुनु पर्ने निर्देशन पनि दिए।

मन्त्री पुनले शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा पनि करिब ३ घण्टासम्म छलफल गरे। छलफलका विषयहरुमा शिक्षकहरुको दरबन्दी मिलान, विद्यार्थी संख्या ज्यादै न्यून रहेको विद्यालयहरु मर्ज कसरी गर्ने, विद्यालयमा योग्य र सक्षम प्रधानाध्यपकहरुको नियुक्ति गर्न देशै भरि लागू हुनेगरी कार्यविधि बनाउने, अनलाइन सिकाईको लागि डिजिटल शैक्षिक सामाग्रीहरु निर्माणमा जोड दिन कार्यक्रम बनाउने रहेका थिए।

यस्तै पाठयक्रम विकास केन्द्रमा पनि करिब २ घण्टा छलफल भएको थियो। छलफलमा मन्त्री पुनले सामुदायिक र संस्थागत विद्यालयहरुको पाठ्‌यक्रमको विकास गर्दा ज्यादै नै गम्भीर भएर काम गर्नु पर्ने, पाठ्यक्रमको परिमार्जन र अद्यावधिक समयमा गर्ने, मातृभाषाको पाठ्य पुस्तकहरूको विकासमा सहयोग गर्ने, पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यवहारिक शिक्षा, इतिहास, संविधान सम्बन्धी ज्ञान दिने कुरालाई उच्च प्राथामिकता दिने निर्देशन दिए।

यसका साथै आगामी वर्षदेखि कक्षा ९ र १० मा १०० नम्बरको कम्प्युटर विषय अनिवार्य गरिने भएकोले सोही अनुसार पाठ्‌यक्रम विकास गर्न निर्देशन समेत दिए।

प्रकाशित: २३ आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया