
काठमाडौं ।
जापानी लगानी कम्पनी सफ्टब्याङ्क समूहले स्विस इन्जिनियरिङ कम्पनी एबीबीको रोबोटिक्स व्यवसाय ५.४ अर्ब डलरमा खरिद गर्ने सम्झौता गरेको छ।
बुधबार गरिएको यो घोषणा अनुसार सफ्टब्याङ्कले रोबोटिक्स र कृत्रिम बुद्धिमत्ता (एआई) लाई एकसाथ जोड्ने आफ्नो रणनीतिलाई अघि बढाएको हो।
संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मासायोसी सोनको नेतृत्वमा गरिएको यो खरिद एआई विकासको क्षेत्रमा सफ्टब्याङ्कलाई प्रमुख खेलाडीका रूपमा स्थापित गर्ने पछिल्लो प्रयास हो।
सफ्टब्याङ्कले दशकअघि ह्युम्यानोइड रोबोट पेपरमार्फत यस क्षेत्रमा प्रवेश गरेको थियो, तर पछि आफ्नो महत्वाकांक्षा घटाएको थियो। पछिल्ला वर्षहरूमा कम्पनीले बर्कशायर ग्रे र अटोस्टोरमा लगानी गरेको छ। यसले ४० अर्ब डलरको लगानी च्याटजीपीटी निर्माता ओपनएआईमा नेतृत्व गरेको र यस वर्ष मार्चमा ६.५ अर्ब डलरमा चिप डिजाइन कम्पनी एम्पेयर पनि खरिद गरेको थियो।
“सफ्टब्याङ्कको अर्को सीमारेखा ‘फिजिकल एआई’ हो,” सोनले विज्ञप्तिमा भनेका छन्।
यो सम्झौतासँगै एबीबीले आफ्नो औद्योगिक अटोमेसन व्यवसायलाई छुट्ट्याएर अलग सूचीबद्ध गर्ने पुरानो निर्णय त्यागेको छ। यो व्यवसाय जापानका फानुक र यास्कावा तथा जर्मनीको कुका कम्पनीसँग प्रतिस्पर्धा गर्छ।
एबीबीका नयाँ प्रमुख कार्यकारी मोर्टन विएरोडले नेतृत्व सम्हालेपछि यो पहिलो ठूलो निर्णय हो। कम्पनीको रोबोटिक्स व्यवसायका बिक्री घट्दै गएको र नाफा कम हुँदै आएको पृष्ठभूमिमा यो कदम उठाइएको हो।
रोयटर्सका अनुसार ७ हजार कर्मचारी कार्यरत एबीबीको रोबोटिक्स विभागले गत वर्ष २.३ अर्ब डलरको बिक्री गरेको थियो, जुन एबीबीको कुल आम्दानीको ७ प्रतिशत हो। तर कम्पनीले आफ्नो अन्य प्रमुख क्षेत्र—विद्युतीकरण र अटोमेसन—सँग सीमित सम्बन्ध देखाएको थियो।
गत अप्रिलमा एबीबीले आफ्ना सेयरधारकलाई रोबोटिक्स व्यवसाय अलग गर्ने योजना जानकारी गराएको थियो, तर तत्काल नगद प्राप्त हुने भएकाले सोफ्टबैंकलाई बिक्री गर्ने निर्णय गरेको एबीबीका प्रमुख विएरोडले रोयटर्ससँग बताए।
स्विजरल्यान्डको जुरिक कान्टोनल बैंकले भने यस व्यवसायको मूल्यांकन छुट्टै सूचीकरणमार्फत झन्डै ४ अर्ब डलरभन्दा कम हुने अपेक्षा गरेको थियो।
बिक्री घोषणा पछि एबीबीका सेयरहरू जुरिकमा २ प्रतिशतले बढेका छन् भने सफ्टब्याङ्कका सेयरमा विशेष परिवर्तन देखिएन र दिनको अन्त्यमा २ प्रतिशतले घटे।
प्रकाशित: २३ आश्विन २०८२, बिहीबार