Technology Khabar २२ आश्विन २०८२, बुधबार
काठमाडौं ।
अमेरिकी सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले मार्केटिङ प्लेटफर्म एपलभिनको डाटा संकलन अभ्यासबारे छानबिन गरिरहेको ब्लूमबर्ग न्यूजले सोमबार जनाएको छ।
कम्पनीका सेयरहरू बजार बन्द हुँदा १४ प्रतिशतले घटेका थिए।
रोयटर्सको रिपोर्टअनुसार एजेन्सीले विशेष गरी एपलभिनले प्लेटफर्म पार्टनरहरूको सेवा सम्झौता उल्लङ्घन गरी उपभोक्तामाथि अझ लक्षित विज्ञापन पठाएको आरोपको समीक्षा गरेको छ। यस मामिलामा एसईसीका साइबर र उदीयमान प्रविधि शाखाका अधिकारीहरूले काम गरिरहेका छन्।
यो छानबिन यस वर्षको सुरुवातमा दायर गरिएको एक ह्वीसलब्लोअर उजुरी र पछिल्ला केही महिनामा प्रकाशित भएका धेरै सर्ट सेलर रिपोर्टहरूको प्रतिक्रियास्वरूप गरिएको ब्लूमबर्गले जनाएको छ। ह्वीसलब्लोअर भन्नाले कुनै संस्थाको गलत काम सार्वजनिक गर्न सूचक व्यक्तिले अदालत वा नियामक निकायमा दिएको उजुरीलाई बुझिन्छ।
रिपोर्टअनुसार नियामक निकायले एपलभिन वा यसको अधिकारीहरूलाई कुनै अपराधको आरोप लगाएको छैन, र समीक्षा कुन चरणमा पुगेको हो भन्ने पनि स्पष्ट छैन। एपलभिनका प्रवक्ताले कम्पनीले सम्भावित नियामक विषयहरूबारे कुनै टिप्पणी नगर्ने बताए। एसईसीले सरकार बन्दका कारण पत्रकारका धेरै सोधपुछहरूमा अहिले प्रतिक्रिया दिन नसक्ने जनाएको छ।
यस वर्षको सुरुवातमा तीन सर्ट सेलरहरूले कम्पनीलाई निशाना बनाएका थिए। फजी पाण्डा रिसर्चले फेब्रुअरीमा एपलभिनले मेटाबाट डाटा चोरेको दावी गरेको थियो।
कल्पर रिसर्चले एपलभिनले ‘एप अनुमति’ (app permissions) को दुरुपयोग गरी प्रयोगकर्ताको फोनमा चुपचाप ब्याकडोरमार्फत अनावश्यक एप इन्स्टल गराउने गरेको आरोप लगाएको थियो।
अर्को सर्ट सेलर मड्डी वाटर्स रिसर्चले मार्चमा एपलभिनले आफ्ना प्रमुख प्लेटफर्म पार्टनरहरूबाट प्रयोगकर्ता आईडी संकलन र संरचना गर्ने कोड प्रयोग गरेको दावी गरेको थियो, जसले प्लेटफर्मका सेवा सर्तहरूको ठूलो उल्लङ्घन देखाउँछ। त्यसै महिनाको अन्त्यमा दुई विश्लेषकहरूले मड्डी वाटर्सका दावीहरू अस्वीकार गरेका थिए।
एपलभिनले सर्ट सेलर गतिविधिको छानबिन गर्न कानुनी फर्म क्विन इम्यानुअललाई नियुक्त गरेको जनाएको छ।
एपलभिनले गत अप्रिलमा चीनबाहेकका टिकटक सम्पत्तिमा बोली लगाएको थियो। कम्पनीले आफ्नो मोबाइल गेम स्टुडियो लन्डनस्थित मोबाइल गेम डेभलपर ट्रिपलडट स्टुडियोजलाई करिब ८० करोड अमेरिकी डलरको नगद र सेयर सम्झौतामा बिक्री गरेको थियो।
प्रकाशित: २२ आश्विन २०८२, बुधबार