Technology Khabar २१ आश्विन २०८२, मंगलवार
काठमाडौं ।
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल फेसबुकमा बढ्दै गइरहेका ठगी गतिविधिप्रति सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेको छ। ब्युरोले विशेषगरी प्रायोजित विज्ञापनमार्फत टेमु, मोदनी, ट्राभलोसिटीजस्ता प्रख्यात ई–कमर्स कम्पनीहरूका नाम प्रयोग गरी गरिने “टास्क स्क्याम” का घटनामा सावधानी अपनाउन अपिल गरेको हो।
ब्युरोका अनुसार ठगहरूले यी ब्रान्डहरूको लोगो र नाम प्रयोग गर्दै फेसबुक विज्ञापनमार्फत प्रयोगकर्तालाई विभिन्न ‘टास्क’ पूरा गरेबापत घरमै बसेर पैसा कमाउन सकिने भन्दै आकर्षित गर्छन्। प्रारम्भमा सानो रकम फिर्ता दिई विश्वास जितेपछि, ठूला लगानीका नाममा पीडितलाई ठग्ने गरेको पाइन्छ।
साइबर ब्युरोले यस प्रकारका आयश्रोतका आश्वासनमा नपर्न र कुनै पनि अनलाइन लगानी वा टास्क अफर स्वीकार गर्नु अघि त्यसको प्रामाणिकता पुष्टि गर्न आग्रह गरेको छ। ब्युरोले भनेको छ, “यस्ता ठगीका घटनामा जानी नजानी संलग्न वा पीडित भएमा तुरुन्तै साइबर ब्युरोमा सम्पर्क गर्न सकिनेछ।”
प्रकाशित: २१ आश्विन २०८२, मंगलवार