भन्सारमा वैज्ञानिक अनलाइन प्रणालीको विस्तार र उपयोग गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

Technology Khabar २० आश्विन २०८२, सोमबार

भन्सारमा वैज्ञानिक अनलाइन प्रणालीको विस्तार र उपयोग गर्न महासंघ अध्यक्ष ढकालको आग्रह
फाइल तस्बिर

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघले भन्सार कार्यालयमा ग्याट भ्यालुएशन अनुसार अनलाइन मुल्यांकन गरिनुपर्ने गरिनु पर्ने माग गरेको छ।

मूल्य निर्धारण डब्लयूटिओ/ग्याट भ्यालुएशन आर्टिकल सेभनमा उल्लेखित विधिहरुको पूर्ण पालना गरी सो अनुरुप कारोवार मूल्य निर्धारण गरिनुपर्ने महासंघको माग रहेको छ। महासंघले ग्याट भ्यालुएशन अनुसार अनलाइन मुल्यांकन गर्न सकिने सम्भावना केही बर्षदेखि सरकारलाई देखाउँदै आएको थियो।

महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले हाल पाइलटका रुपमा विराटनगरबाट शुरु भएको मुल्यांकन प्रक्रिया उपयोग गर्न उद्यमी व्यवसायीहरुमा आग्रह गरे। साथै सबै भन्सार विन्दुमा उक्त सेवा शुरु गर्न सरकारसँग पनि आग्रह गरेका छन्।

नेपाल सरकारले विराटनगर भन्सार कार्यालयबाट वहुप्रतिक्षित मुल्यांकन डाटावेस प्रणालीको सफल परिक्षण गरेको छ। प्रचलित सन्दर्भ पुस्तिकालाई विस्थापित गरि विश्व व्यापार संगठन अन्तर्गतको ग्याट सम्झौतामा उल्लेखित र अधिकांश मुलुकमा चलेको यो मुल्यांकन विधि नेपालमा पहिलोपटक शुरु भएको हो।

असोज ९ गते अर्थमन्त्री रामेश्वर खनालद्वारा उदघाटन भएको उक्त प्रणालीले हरेक ६ महिनामा परिमार्जन हुने सन्दर्भ पुस्तिकाका विषयमा व्यवसायीको गुनासो सम्बोधन गर्ने अपेक्षा लिईएको छ।

यस विधिमा जाँचपास भएको सबै वस्तुको मुल्य विवरण संग्रह गरिनेछ । सरकारका अनुसार यो भन्सार जाँचपासमा आएका वस्तुको विश्लेषण र तुलना गर्न मिल्ने डिजिटल श्रोत हो जसले कारोबार मुल्य पहिचान गर्न सहयोग पुग्दछ।

व्यवसायीहरुले कारोबार मुल्यलाई मान्यता दिन आग्रह गरिरहेको सन्दर्भमा मुल्यांकन डाटावेस प्रणाली त्यसतर्फको डिजिटल प्रक्रिया हो ।

अनलाइन डेटावेस प्रणालीलाई विश्व व्यापार संगठनले मान्यता दिएको हुँदा पनि यो वैज्ञानिक विधि भएको र यसले नेपालमा अनौपचारिक अर्थतन्त्रको एउटा पाटो न्युनबिजकीकरण र अधिक विजकीकरणको समस्यालाई धेरै हदसम्म सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २० आश्विन २०८२, सोमबार

तपाइको प्रतिक्रिया