एनभिडिया र फुजित्सुबीच एआई प्रविधिमा सहकार्य गर्ने सहमति

Technology Khabar २१ आश्विन २०८२, मंगलवार

काठमाडौं ।

अमेरिकी प्रविधि कम्पनी एनभिडिया र जापानी टेलिकम्युनिकेसन तथा कम्प्युटर निर्माता फुजित्सुले केही दिनअघि कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा सहकार्य गर्ने सहमति गरेका छन्। दुवै कम्पनीले एनभिडियाका कम्प्युटर चिप्स प्रयोग गरेर स्मार्ट रोबोट र अन्य नयाँ प्रविधि विकास गर्ने योजना बनाएका छन्।

“एआई औद्योगिक क्रान्ति सुरु भइसकेको छ। यसका लागि आवश्यक पूर्वाधार निर्माण जापान र विश्वभरका लागि अत्यावश्यक छ,” एनभिडियाका प्रमुख कार्यकारी जेन्सेन हुआङले मञ्चमा फुजित्सुका प्रमुख ताकाहितो तोकितालाई अँगालो हाल्दै भने। “जापान एआई र रोबोटिक्समा विश्वलाई नेतृत्व गर्न सक्छ,” हुआङले टोकियोस्थित होटलमा पत्रकारहरूसँग भने।

दुवै कम्पनीले “एआई पूर्वाधार” निर्माणमा सहकार्य गर्ने योजना बनाएका छन्, जसमा स्वास्थ्य, उत्पादन, वातावरण, आगामी पुस्ताको कम्प्युटिङ र ग्राहक सेवाजस्ता क्षेत्रमा एआईको उपयोग हुनेछ। सन् २०३० सम्म जापानका लागि यस्तो पूर्वाधार तयार पार्ने लक्ष्य राखिएको एपीन्युजले जनाएको छ।

सुरुवाती रूपमा यो परियोजना जापानी बजारका लागि तयार गरिनेछ, जहाँ फुजित्सुको लामो अनुभव उपयोग गरिनेछ। तर पछि यो विश्वव्यापी रूपमा विस्तार गर्न सकिने बताइएको छ। परियोजनामा एनभिडियाका जीपीयू (ग्राफिक्स प्रोसेसिङ युनिट) प्रयोग गरिनेछ, जुन एआईका लागि अत्यावश्यक मानिन्छ।

दुवै कार्यकारीले कति रकम लगानी गर्ने वा कुन परियोजनाबाट सुरु गर्ने भन्ने विवरण भने सार्वजनिक गरेका छैनन्। तर जापानी मेसिनरी तथा रोबोट निर्माता कम्पनी यासकावा इलेक्ट्रिकसँग सहकार्यमा रोबोटका लागि एआई प्रविधि विकास गर्ने सम्भावना रहेको उल्लेख गरिएको छ।

फुजित्सु र एनभिडिया पहिले नै डिजिटल ट्विन्स र रोबोटिक्स प्रयोग गरेर जापानमा श्रम अभाव समाधान गर्नका लागि एआईमा सहकार्य गर्दै आएका छन्।

तोकिताले कम्पनीहरूले “मानवकेन्द्रित दृष्टिकोण” अपनाइरहेको बताउँदै जापानलाई प्रतिस्पर्धी बनाउन यो सहकार्य महत्वपूर्ण हुने बताए।

“एनभिडियासँगको सहकार्यमार्फत हामी नयाँ र अभूतपूर्व प्रविधि सिर्जना गर्न तथा अझ गम्भीर सामाजिक समस्याहरू समाधान गर्न योगदान पुर्‍याउने लक्ष्य राखेका छौँ,” तोकिताले भने।

प्रकाशित: २१ आश्विन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया