मेटा प्लेटफर्म्सले डिसेम्बरबाट कन्टेन्ट र विज्ञापन पर्सनलाइज गर्न एआई च्याटको प्रयोग गर्ने

Technology Khabar १७ आश्विन २०८२, शुक्रबार

काठमाडौं ।

मेटा प्लाटफर्म्सले आगामी डिसेम्बर १६ देखि फेसबुक र इन्स्टाग्रामजस्ता आफ्ना एपमा सामग्री र विज्ञापन व्यक्तिगत बनाउन प्रयोगकर्ताहरूको जेनेरेटिभ एआईसँगको अन्तरक्रियालाई प्रयोग गर्न सुरु गर्ने बुधबार घोषणा गरेको छ।

कम्पनीले अक्टोबर ७ देखि प्रयोगकर्तालाई यसबारे जानकारी दिनेछ र यसबाट बाहिर निस्कने विकल्प उपलब्ध नहुने जनाएको छ। तर यो अपडेट केवल मेटा एआई प्रयोग गर्नेहरूलाई मात्र लागू हुने बताइएको छ।

रोयटर्सका अनुसार प्रयोगकर्ताले आवाज वा टेक्स्टमार्फत एआईसँग गर्ने अन्तरक्रिया पहिलेको डाटा जस्तै लाइक र फलोहरूसँग थपिनेछ र रिल्स तथा विज्ञापनसहित सामग्री सिफारिसहरूलाई आकार दिने मेटाले बताएको छ। उदाहरणका लागि, यदि कुनै प्रयोगकर्ताले मेटा एआईसँग हाइकिङबारे कुरा गर्छ भने, उसलाई पछि हाइकिङ समूह, साथीहरूको ट्रेल अपडेट वा जुत्ताको विज्ञापन देखाउन सकिनेछ।

“प्रयोगकर्ताको अन्तरक्रिया पनि अब फिड र विज्ञापन व्यक्तिगत बनाउन प्रयोग हुने अर्को इन्पुट बन्नेछ,” मेटाका गोपनीयता नीतिका प्रबन्धक क्रिस्टी ह्यारिसले भने। “हामी अझै यस डाटाको प्रयोग गर्ने प्रारम्भिक सेवाहरू निर्माणको प्रक्रियामा छौं।”

तर प्रयोगकर्ताले मेटा एआईसँग धर्म, यौन अभिमुखता, राजनीतिक विचार, स्वास्थ्य, जातीय वा नस्लीय मूलजस्ता संवेदनशील विषयमा गरेको कुराकानी भने विज्ञापन देखाउन प्रयोग गरिने छैन। यो सेवा डिसेम्बर १६ देखि धेरैजसो क्षेत्रमा सुरु हुनेछ र समयसँगै विस्तार हुँदै जानेछ। तर बेलायत, युरोपेली संघ र दक्षिण कोरियामा भने लागू हुनेछैन।

मेटा एआईका मासिक सक्रिय प्रयोगकर्ता संख्या अहिले १ अर्ब पुगेको कम्पनीले जनाएको छ।

सिइओ मार्क जकरबर्गले यस वर्षको वार्षिक शेयरधारक बैठकमा यस वर्षको प्राथमिकता व्यक्तिगत, आवाजमा आधारित कुराकानी र मनोरञ्जनमा जोड दिँदै मेटा एआईलाई अग्रणी व्यक्तिगत एआई बनाउने रहेको बताएका थिए।

गत महिना कम्पनीले आफ्नो वार्षिक कनेक्स सम्मेलनमा बिल्ट-इन डिस्प्ले भएको पहिलो उपभोक्ता-तयार स्मार्ट चश्मा सार्वजनिक गरेको थियो।

मेटाले विज्ञापनका लागि एआई अन्तरक्रिया प्रयोग गर्ने निर्णय गुगल र अमेजनजस्ता अन्य प्रविधि कम्पनीहरूले क्लाउड सेवामार्फत एआई उपकरणलाई व्यावसायिक बनाउन सुरु गरिसकेपछि आएको हो। तर मेटाले जस्तो ठुलो स्तरमा बहुप्लाटफर्म सामग्री र विज्ञापन व्यक्तिगत गर्न एआई च्याट अन्तरक्रिया प्रयोग गर्ने प्रयास भने थोरै कम्पनीले मात्र गरेका छन्।

प्रकाशित: १७ आश्विन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया