स्टोरेजको सीमा लागू गर्दै स्न्याप

Technology Khabar १३ आश्विन २०८२, सोमबार

काठमाडौं ।

स्न्यापले आफ्ना प्रयोगकर्तामाथि नयाँ स्टोरेज सीमा लागू गर्ने भएको छ। कम्पनीको लोकप्रिय ‘मेमोरीज’ फिचर २०१६ मा सुरु भएदेखि प्रयोगकर्ताहरूले १ ट्रिलियनभन्दा बढी मेमोरी सुरक्षित गरिसकेका छन्। अब ५ जीबीभन्दा बढी मेमोरी सुरक्षित गर्ने प्रयोगकर्ताका लागि कम्पनीले “मेमोरीज स्टोरेज प्लान” सार्वजनिक गरेको छ।

इन्ग्याजेटका अनुसार स्न्यापले जारी गरेको प्रेस विज्ञप्तिमा प्रारम्भिक प्लानअन्तर्गत प्रयोगकर्ताले मासिक १.९९ डलर तिरेर १०० जीबीसम्म मेमोरीज भण्डारण गर्न सक्ने उल्लेख छ।

मासिक ३.९९ डलर तिर्ने स्न्यापच्याट+ सदस्यले २५० जीबीसम्म भण्डारण पाउनेछन् भने मासिक १५.९९ डलर तिर्ने उच्च-स्तरीय ‘प्लाटिनम’ सदस्यले ५ टेराबाइटसम्म भण्डारण पाउने व्यवस्था गरिएको छ।

स्न्यापका अनुसार “धेरैजसो प्रयोगकर्ताले” कुनै परिवर्तन महसुस गर्ने छैनन्, किनभने उनीहरूको प्रयोग ५ जीबीभन्दा निकै कम छ। तर हजारौँ स्न्यापहरू सुरक्षित राख्ने प्रयोगकर्ताका लागि यी नयाँ भण्डारण योजना लागू हुनेछन्। कम्पनीले असीमित भण्डारण प्रणालीबाट भुक्तानी योजनातर्फ सहज संक्रमण गर्नका लागि ५ जीबीभन्दा बढी मेमोरीज भएका प्रयोगकर्तालाई अस्थायी रूपमा एक वर्षको भण्डारण सुविधा उपलब्ध गराउनेछ।

यी नयाँ भण्डारण सदस्यताहरू स्न्यापले हालै सुरु गरेको भुक्तानी सेवा ‘लेन्स+’ पछि आएको हो, जसको शुल्क मासिक ९ डलर तोकिएको छ।

प्रकाशित: १३ आश्विन २०८२, सोमबार

तपाइको प्रतिक्रिया