Technology Khabar १३ आश्विन २०८२, सोमबार
काठमाडौं ।
टेलिग्राम म्यासेजिङ एपका अर्बपति संस्थापक पावेल डुरोभले आइतबार फ्रान्सेली गुप्तचर निकायमाथि आफूलाई फ्रान्समा चलिरहेको मुद्दामा सहयोगको सट्टा केही मोल्दोभाली आवाजलाई सेन्सर गर्न आग्रह गरेको आरोप लगाएका छन्।
मोल्दोभामा आइतबार भएको संसद् निर्वाचनले मुलुकको युरोपेली सङ्घमा प्रवेश गर्ने सरकारी अभियानमा ठूलो असर पार्ने अपेक्षा गरिएको छ। यसबीच प्र-रूसी विपक्षी समूहले मुलुकलाई युरोपसँगको नजिकापनाबाट टाढा लैजाने प्रयास गरिरहेको छ।
रोयटर्सका अनुसार एक्समा अंग्रेजी भाषामा गरिएको पोस्टमा फ्रान्सको परराष्ट्र मन्त्रालयले डुरोभले यसअघि पनि रोमानियामा निर्वाचनकै समयमा फ्रान्समाथि त्यहाँको राजनीति नियन्त्रण गर्न खोजेको आरोप लगाएको स्मरण गराउँदै लेखेको छ, “रोमानियापछि अब मोल्दोभा। @durov लाई निर्वाचन भइरहेका बेला आरोप लगाउन मन पर्छ।”
डुरोभ सन् २०२४ मा फ्रान्सको एक विमानस्थलमा पक्राउ परेका थिए र हाल फ्रान्समा टेलिग्राम एपमार्फत आयोजित आपराधिक गतिविधिमा संलग्न भएको आशंकामा न्यायिक निगरानीमा छन्। उनले भने यी आरोपहरू “कानूनी र तार्किक रूपमा निराधार” भएको बताएका छन्।
डुरोभले आइतबार भनेका छन्, पेरिसमा अड्किएको बेला फ्रान्सेली गुप्तचर निकायले एउटा मध्यस्थमार्फत मोल्दोभाली सरकारका लागि केही टेलिग्राम च्यानलहरू “सेन्सर” गर्न आग्रह गरेको थियो।
उनका अनुसार नियम उल्लङ्घन गरेका केही च्यानल हटाइएका थिए। तर मध्यस्थले आफूलाई भनेको थियो, यसका सट्टा फ्रान्सेली गुप्तचरले आफ्ना गिरफ्तारी आदेश दिने न्यायाधीशसँग “सकारात्मक कुरा गर्ने”छ, जुन कुरा उनले “अस्वीकार्य” भनेका छन्।
“यदि निकायले साँच्चै न्यायाधीशलाई सम्पर्क गरेको हो भने, यो न्यायिक प्रक्रियामा हस्तक्षेप गर्ने प्रयास हो। यदि सम्पर्क गरेको दाबी मात्रै हो भने, यसले मेरो फ्रान्समा रहेको कानुनी अवस्थालाई पूर्वी युरोपमा राजनीतिक प्रभाव जमाउन प्रयोग गरेको हो,” डुरोभले भने।
डुरोभले यसअघि गत मे महिनामा पनि फ्रान्सको वैदेशिक गुप्तचर प्रमुखले रोमानियामा निर्वाचनअघि त्यहाँका रूढीवादी आवाजहरू बन्द गर्न आग्रह गरेको बताएका थिए। तर त्यतिबेला फ्रान्सको गुप्तचर निकाय डीजीएसईले यो दाबी अस्वीकार गरेको थियो।
डुरोभले टेलिग्रामको स्थापना २०१४ मा गरेका थिए, जब उनले रूसमा आफ्नो भीके सामाजिक सञ्जालमार्फत विपक्षी समुदायहरू बन्द गर्न सरकारको माग अस्वीकार गरी देश छाडेका थिए। अहिले टेलिग्राममा मासिक सक्रिय प्रयोगकर्ता संख्या १ अर्बभन्दा बढी छ र यो एप विशेषगरी रूस तथा युक्रेनलगायत पूर्व सोभियत मुलुकहरूमा अत्यधिक प्रभावशाली मानिन्छ।
प्रकाशित: १३ आश्विन २०८२, सोमबार