
काठमाडौं ।
मेटा कम्पनीले फेसबुक र मेसेन्जरमा किशोरकिशोरीहरूलाई समर्पित “टीन अकाउन्टस्” मा सार्न थालेको छ। यसले युवा प्रयोगकर्ताहरूका लागि अभिभावकीय नियन्त्रण र अन्य सुरक्षाहरू थप गरेको छ।
कम्पनीले “लाखौं” किशोरकिशोरीहरूले पहिले नै इन्स्टाग्राम, फेसबुक र मेसेन्जरमा खाताहरू प्रयोग गर्छन् भनी दावी गरेपछि यो “टीन अकाउन्टस्” (किशोर खाताहरू) को विस्तार आएको रिपोर्ट गरिएको छ।
मेटाले एक वर्ष पहिले पहिलो पटक इन्स्टाग्राममा टीन अकाउन्टस् ल्याएको थियो र यस वर्षको सुरुमा अमेरिका, क्यानडा, बेलायत र अष्ट्रेलियाका किशोरकिशोरीहरूलाई फेसबुक र मेसेन्जरमा रोल आउट गर्न थालेको छ।
कम्पनीको यो कदमसँगै अब, विश्वभरका किशोरकिशोरीहरूका लागि विशेष खाताहरू उपलब्ध हुने भएका छन्।
कम्पनीले यी खाताहरू सबै किशोरकिशोरीहरूका लागि अनिवार्य बनाएको छ र सुरक्षा सेटिङहरू परिवर्तन गर्न किशोरकिशोरीहरू (१३ देखि १५ वर्ष उमेरका) लाई अभिभावकको अनुमति लिन आवश्यक पर्नेछ।
साथै मेटाले आफ्नो उमेरको बारेमा झूट बोल्ने किशोरकिशोरीहरू पत्ता लगाउन एआई प्रयोग गर्ने खुलासा गरिएको छ।
टीन अकाउन्टस्ले अभिभावकहरूलाई आफ्ना बच्चाहरूले मेटा एपहरू कसरी प्रयोग गर्छन् भनेर निगरानी गर्न अनुमति दिनेछ भने तिनीहरूमा स्क्रिन टाइम (समय) ट्र्याक गर्ने सुविधाहरू र उनीहरूका बच्चाहरूले कसलाई सन्देश पठाइरहेका छन् भनेर हेर्ने क्षमता समावेश रहेको छ।
यस बाहेक टीन अकाउन्टस् थप प्रतिबन्धात्मक गोपनीयता र सुरक्षा सेटिङहरूसँग आउने जनाइएको जुन उनीहरूले नचिनेका वयस्कहरूसँगको उनीहरूको सम्पर्कलाई सीमित गर्न डिजाइन गरिएको छ।
त्यसैगरी इन्स्टाग्रामले आफ्नो कार्यक्रम पनि विस्तार गर्दैछ जसले अमेरिकाका प्राथमिक र माध्यमिक विद्यालयहरूलाई बुली (धम्की) र अन्य समस्याग्रस्त व्यवहारको बारेमा छिटो रिपोर्टिङ गर्न अनुमति दिनेछ।
अहिलेसम्म, कम्पनीले धेरै प्राथमिक र माध्यमिक विद्यालयहरूसँगको सहकार्यमा “स्कूल साझेदारी कार्यक्रम” प्रस्तुत गरेको छ।
मेटाले “सहभागी विद्यालयहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको” र अमेरिकामा आधारित कुनै पनि विद्यालयले आवेदन दिन र सामेल हुन सक्ने बताएको टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: १३ आश्विन २०८२, सोमबार