भारतमा सरकारी टेलिकम बीएसएनएलको ‘स्वदेशी’ फोरजी नेटवर्क सुरु, फाइभजी नेटवर्क पनि तयारीमा

  • Technology Khabar | १२ आश्विन २०८२, आईतवार
भारतमा सरकारी टेलिकम बीएसएनएलको ‘स्वदेशी’ फोरजी नेटवर्क सुरु, फाइभजी नेटवर्क पनि तयारीमा

काठमाडौं ।

भारतीय टेलिकम कम्पनी भारत संचार निगम लिमिटेड (बीएसएनएल) ले शनिबारदेखि फोरजी नेटवर्कको सुरुवात गरेको छ। सरकारी स्वामित्वमा रहेको टेलिकम कम्पनीको फोरजी नेटवर्कले स्वदेशी प्रविधि प्रयोग गर्दछ।

बीएसएनएलले ९७,००० भन्दा बढी टेलिकम टावरहरू स्थापना गरेको छ। यसले भारतलाई आफ्नै टेलिकम प्रविधि विकास गर्ने केही देशहरू मध्ये एक बनाएको मिडिया रिपोर्टहरुमा उल्लेख छ।

बीएसएनएलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री मोदीको डिजिटल इन्डियाको दृष्टिकोण अनुरूप, यो ‘स्वदेशी’ ४जी नेटवर्क एक प्रमुख खेल-परिवर्तक हो। यसले डिजिटल खाडललाई कम गर्नेछ र ग्रामीण समुदायहरूलाई सशक्त बनाउनेछ। यसले बीएसएनएलको ५जी नेटवर्कको लागि पनि मार्ग प्रशस्त गर्नेछ।”

कम्पनीको ४जी नेटवर्क क्लाउड-आधारित हुन डिजाइन गरिएको छ र यसलाई ५जी मा स्तरोन्नति गर्न सकिन्छ।भारतीय प्रधानमन्त्री मोदीले ‍सेवाको उद्घाटन गर्नुका साथै देशभरका ९७,५०० भन्दा बढी टेलिकम टावरहरूको पनि उद्घाटन गरेका थिए, जुन पूर्णरूपमा स्वदेशी प्रविधि प्रयोग गरेर निर्मित छन्।

यी टावरहरूले देशभरका २६,००० भन्दा बढी दुर्गम र सीमावर्ती गाउँहरूमा कनेक्सन प्रदान गर्नेछन्। नयाँ टेलिकम टावरहरूले सौर्य ऊर्जा प्रयोग गर्छन्।

सरकारी टेलिकम बीएसएनएलले भर्खर मात्रै फोरजी शुरुगरेपनि निजी टेलिकम अपरेटरहरु रिलायन्स जियो, भारती एयरटेल, भोडाफोन आइडिया जस्ता प्रमुख निजी टेलिकम कम्पनीहरूसँग देशको लगभग हरेक भागमा फाइभजी नेटवर्कहरू छन्।

कम्पनीले देशभर फोरजी शुरु गरेसँग फाइभजीको योजना समेत तयार गरिसकेको छ।

प्रकाशित: १२ आश्विन २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...