ट्रम्प प्रशासनले विदेशी इलेक्ट्रोनिक उपकरणमा प्रयोग भएको चिप्सको संख्याका आधारमा नयाँ आयात शुल्क लगाउने

Technology Khabar १३ आश्विन २०८२, सोमबार

काठमाडौं ।

ट्रम्प प्रशासनले विदेशी इलेक्ट्रोनिक उपकरणमा प्रयोग भएको चिप्सको संख्याका आधारमा नयाँ आयात शुल्क लगाउनेबारे विचार गरिरहेको तीन जना जानकार स्रोतले जनाएका छन्। यस कदममार्फत कम्पनीलाई उत्पादन अमेरिका सार्न दबाब दिने प्रयास गरिएको बताइन्छ।

यो योजना अहिलेसम्म सार्वजनिक नभएको र परिवर्तन हुनसक्ने बताइएको छ। यसअनुसार वाणिज्य विभागले उत्पादनमा रहेको चिप्सको मूल्य अनुमान गरेर सोही आधारमा निश्चित प्रतिशतको शुल्क लगाउनेछ। वाणिज्य विभागले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

“अमेरिका आफ्नो राष्ट्रिय र आर्थिक सुरक्षाका लागि आवश्यक अर्धचालक उत्पादनमा विदेशी आयातमा भर पर्न सक्दैन,” भनी ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले प्रतिक्रिया दिएका छन्। उनले थपे, “ट्रम्प प्रशासनले शुल्क, कर छुट, नियमन घटाउने र ऊर्जा आपूर्ति बढाउनेजस्ता उपायमार्फत उत्पादन फर्काउने बहुआयामिक रणनीति लागू गरिरहेको छ।”

रोयटर्सका अनुसार यदि योजना कार्यान्वयनमा आयो भने दाँत ब्रसदेखि ल्यापटपसम्मका उपभोक्ता वस्तुमा असर पर्ने र मूल्य बढ्ने सम्भावना छ, जसले मुद्रास्फीति थप बढाउने देखिन्छ।

अमेरिकी इन्टरप्राइज इन्स्टिच्युटका अर्थशास्त्री माइकल स्ट्रेनले भने, “अमेरिकामा मुद्रास्फीति पहिले नै फेडको लक्ष्यभन्दा माथि छ र बढ्दै गएको अवस्थामा यस्तो कदमले उपभोक्ता वस्तुको लागत अझै बढाउनेछ।” फेडको लक्ष्य मुद्रास्फीति दर २ प्रतिशत हो।

उहाँका अनुसार अमेरिका भित्रै उत्पादन हुने सामान पनि महँगो हुने सम्भावना छ, किनभने त्यस्ता सामान बनाउन आवश्यक कच्चा पदार्थमा पनि नयाँ शुल्क लाग्नेछ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि पनि अमेरिकी उत्पादनलाई प्रोत्साहन दिन विभिन्न आयात शुल्क लगाउँदै आएका छन्। बिहीबार मात्र उनले ब्रान्डेड औषधिमा १०० प्रतिशत र ठूला ट्रकमा २५ प्रतिशत शुल्क घोषणा गरेका थिए, जसले केही समय शान्त रहेको व्यापारमा फेरि अनिश्चितता बढाएको छ।

गत अप्रिलमा प्रशासनले औषधि र अर्धचालक आयातमाथि अनुसन्धान सुरु गर्दै, विदेशी उत्पादनमा बढी भर पर्नु राष्ट्रिय सुरक्षाका लागि खतरा भएको तर्क गर्दै, तिनीहरूमा शुल्क लगाउने तयारी गरेको थियो।
तर कुन-कुन उत्पादनमा शुल्क लाग्ने, दर कति हुने, र कुन देश वा कम्पनीलाई छुट दिइने भन्नेबारे अझै प्रश्न उठिरहेका छन्।

ट्रम्पले गत अगस्टमा अमेरिकाले अर्धचालक आयातमा करिब १०० प्रतिशत शुल्क लगाउने तर अमेरिका भित्र उत्पादन गर्ने वा उत्पादन गर्ने प्रतिबद्धता जनाएका कम्पनीलाई भने छुट दिने बताएका थिए।

अमेरिकाबाहिरका ठूला चिप निर्माता कम्पनीमा ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ (टीएसएमसी) र दक्षिण कोरियाको सामसङ इलेक्ट्रोनिक्स पर्छन्।

 

प्रकाशित: १३ आश्विन २०८२, सोमबार

तपाइको प्रतिक्रिया