Technology Khabar १३ आश्विन २०८२, सोमबार
काठमाडौं ।
यूट्युब म्युजिकले प्रयोगकर्ताले सुन्दै गरेको गीतबारे सम्बन्धित कथा, प्रशंसक तथ्यांक र टिप्पणी दिने एआई संगीत होस्ट परीक्षण गरिरहेको कम्पनीले शुक्रबार घोषणा गरेको छ।
यो कदम स्पोटिफाइले एआई डीजे सुरु गरेको दुई वर्षपछि आएको हो, जसले प्रयोगकर्ताले मन पराउने गीत र कलाकारबारे एआईबाट सञ्चालित टिप्पणीसहितको संगीत चयन उपलब्ध गराउँछ।
यूट्युब म्युजिकको नयाँ सुविधा यसको वार्तालापमा आधारित एआईसम्बन्धी प्रयोगहरूमा आधारित हो। गत जुलाईमा सेवाले प्रयोगकर्ताले आफूलाई चाहिएको संगीत विवरण गरेर आफ्नै रेडियो स्टेशन बनाउन सक्ने एआई वार्तालापमा आधारित रेडियो सुविधा सार्वजनिक गरेको थियो।
टेकक्रञ्चका अनुसार यूट्युब म्युजिकका नयाँ एआई होस्ट हाल यूट्युब ल्याब्स मार्फत परीक्षण भइरहेको छन्। कम्पनीले ब्लगमा यूट्युब ल्याब्स लाई “यूट्युब मा एआईको सम्भावना खोज्ने नयाँ पहल” भनेर उल्लेख गरेको छ।
यूट्युब ल्याब्स गुगल ल्याब्स जस्तै छ जहाँ प्रयोगकर्ताले प्रारम्भिक चरणका एआई उत्पादनहरू परीक्षण गरेर प्रतिक्रिया दिन सक्छन्। यूट्युब ल्याब्स सबै प्रयोगकर्ताका लागि खुला भए पनि कम्पनीले प्रारम्भमा अमेरिका-आधारित सीमित संख्याका सहभागीलाई मात्र पहुँच दिने जनाएको छ।
हालै यूट्युब ल्याब्समार्फत विभिन्न एआई सुविधा थपिएका छन्। यस महिनाको सुरुमा कम्पनीले शर्ट्स बनाउन जेनेरेटिभ एआई उपकरणसहित सिर्जनाकर्ताका लागि एआई सुविधा सार्वजनिक गर्यो। केही महिनाअघि यूट्युबले गुगलको एआई ओभरभ्युज जस्तै एआई-समर्थित खोज परिणाम क्यारोसेल सुरु गर्यो र प्रयोगकर्ताले जानकारी खोज्न, सामग्री सिफारिस पाउन र भिडियोको सारांश प्राप्त गर्न सक्ने वार्तालापीमा आधारित एआई उपकरणको पहुँच विस्तार गर्यो।
एआई सुविधा अपनाइरहेको यूट्युबले अयोग्य एआई सामग्रीविरुद्ध कडाइ पनि गरेको छ। कम्पनीले हालै आफ्ना नीतिहरू परिमार्जन गरेर दोहोरिएका वा ठूलो मात्रामा उत्पादन गरिएका “अप्रामाणिक” सामग्रीबाट सिर्जनाकर्ताले आम्दानी गर्न पाउने अधिकार सीमित गरेको छ।
प्रकाशित: १३ आश्विन २०८२, सोमबार