Technology Khabar १२ आश्विन २०८२, आईतवार
काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार माइक्रोसफ्टले ग्लोबल अफेयर्सकी अध्यक्ष लिसा मोनाकोलाई तत्काल बर्खास्त गर्नुपर्ने घोषणा गरेका छन्।
ट्रम्पले ट्रुथ सोसलमा लेख्दै मोनाको बाराक ओबामा सरकारमा वरिष्ठ राष्ट्रिय सुरक्षा सल्लाहकार र जो बाइडेन सरकारमा उप–अटर्नी जनरलका रूपमा रहेकी व्यक्ती भएको उल्लेख गरेका छन्। उनले मोनाकोलाई अटर्नी जनरल मेरिक गारल्यान्डको ‘पपेट’ भन्दै अहिले माइक्रोसफ्टमा रहेकी कारण “अत्यन्तै संवेदनशील जानकारी” सम्म पहुँच भएको र यो “अस्वीकार्य” रहेको बताएका छन्।
“मेरो विचारमा माइक्रोसफ्टले लिसा मोनाकोको रोजगारी तुरुन्तै अन्त्य गर्नुपर्छ,” ट्रम्पले लेखेका छन्।
टेकक्रञ्चका अनुसार मोनाको ओबामा र बाइडेन दुवैसँग काम गरिसकेकी छन्। बाइडेन प्रशासनमा उनी डेपुटी–अटर्नी जनरलका रूपमा रहेकी थिइन्। यसअघि ट्रम्पले मोनाकोसहित बाइडेन, कमला ह्यारिस, हिलारी क्लिन्टन र बाइडेन परिवारको सुरक्षा अनुमति फिर्ता लिएका थिए।
माइक्रोसफ्टका प्रवक्ताले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन्। मोनाकोले गत मे महिनामा कम्पनीमा प्रवेश गर्दै साइबर सुरक्षा नीतिहरू र विश्व सरकारहरूसँगको सम्बन्ध सम्हाल्ने जिम्मेवारी पाएकी थिइन्।
ट्रम्पकी सहयोगी तथा दक्षिणपन्थी कार्यकर्ता लाउरा लुमरले पटक–पटक माइक्रोसफ्टले मोनाकोलाई नियुक्त गरेको भन्दै आलोचना गरेकी छन्। उनले एक्समा माइक्रोसफ्टका सीईओ सत्या नाडेलालाई “भारतमा जन्मिएका” भन्दै आरोप लगाएकी छिन्। शुक्रबार उनले ट्रम्पको पोस्ट उद्धृत गर्दै राष्ट्रपति ट्रम्पलाई “माइक्रोसफ्टका सबै सरकारी सम्झौता रद्द गर्न” आग्रह गरिन्।
ट्रम्पले कार्यालय फर्किएयता पहिलो पटक टेक कम्पनीका कार्यकारीलाई लक्षित गरेका होइनन्। यसअघि उनले इन्टेलका अध्यक्ष लिप–बु टानले तत्काल राजीनामा दिनुपर्ने बताएका थिए। तर बाइडेन प्रशासनले वचनबद्ध गरेको लगानीका सट्टामा सरकारलाई १० प्रतिशत हिस्सा दिएपछि ट्रम्पले टानलाई “अत्यन्तै सम्मानित प्रमुख कार्यकारी” को संज्ञा दिएका थिए।
प्रकाशित: १२ आश्विन २०८२, आईतवार