Technology Khabar ११ आश्विन २०८२, शनिबार
काठमाडौं ।
सिङ्गापुर सरकारले फेसबुकमा हुने नक्कली पहिचानसम्बन्धी ठगी रोक्नका लागि मेटा प्लाटफर्मलाई यो महिनाको अन्त्यसम्म अनुहार पहिचानजस्ता उपाय लागू गर्न निर्देशन दिएको छ।
यदि मेटाले निर्देशनको पालना नगरेमा अधिकतम १० लाख सिङ्गापुर डलर (७ लाख ७६ हजार अमेरिकी डलरभन्दा बढी) जरिवाना गर्न सकिने सिङ्गापुरको गृहमन्त्रालयले बिहीबार जनाएको छ।
समयसीमा कटेपछि हरेक दिनको लागि १ लाख सिङ्गापुर डलरसम्म थप जरिवाना गर्न सकिने चेतावनी पनि दिइएको छ। मन्त्रालयले यो निर्देशन बुधबार मेटालाई पठाइएको रोयटर्सले जनाएको छ।
मेटाका प्रवक्ताले बुधबार प्रतिक्रिया दिँदै भने, “नक्कली पहिचान गर्नु वा सार्वजनिक व्यक्तिहरूको नाममा विज्ञापन चलाएर मानिसलाई ठग्ने काम हाम्रो नीतिविपरीत हो, यस्तो भेटिएमा हामी हटाउँछौं।” प्रवक्ताले थपे, “हामीसँग नक्कली खाता र चर्चित व्यक्तिहरूको नाम प्रयोग गर्ने विज्ञापन पत्ता लगाउने विशेष प्रणाली छ र यी ठगी गर्ने आपराधिक समूहविरुद्ध कानुनी कारबाहीका लागि प्रहरीसँग मिलेर काम भइरहेको छ।”
यसअघि यसै महिनामा सिङ्गापुर प्रहरीले सरकारका उच्च अधिकारीहरूको नाममा बनाइएका नक्कली विज्ञापन, खाता, प्रोफाइल र व्यापारिक पेज हटाउन फेसबुकमा एन्टी–स्क्याम उपाय लागू गर्न मेटालाई आदेश दिएको थियो। तर त्यसमा समयसीमा तोकिएको थिएन।
गृहमन्त्रालयका अनुसार २०२४ जूनदेखि २०२५ जूनसम्म फेसबुकमार्फत उच्च सरकारी अधिकारीहरूको भिडियो वा तस्बिर प्रयोग गरी बनाइएका नक्कली विज्ञापन, खाता र पेजमार्फत हुने ठगीका घटनामा वृद्धि भएको छ।
“मेटाले विश्वभर, सिङ्गापुरसमेत, नक्कली पहिचानसम्बन्धी ठगी नियन्त्रणका लागि केही कदम चालिसकेको भए पनि यी घटनाको व्यापकता सिङ्गापुरमा अझै उच्च भएकाले मन्त्रालय र प्रहरी चिन्तित छन्,” गृहमन्त्रालयले जनाएको छ। यो आदेश यस वर्ष फेब्रुअरीदेखि कार्यान्वयनमा आएको नयाँ ‘अनलाइन क्रिमिनल हर्म्स एक्ट’ अन्तर्गत जारी गरिएको पहिलो निर्देशन हो।
प्रकाशित: ११ आश्विन २०८२, शनिबार