Technology Khabar ९ आश्विन २०८२, बिहीबार
काठमाडौं ।
नेपाल टेलिकमको सिम तथा रिचार्ज कार्ड वितरकहरुले नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, बागमति प्रदेशको कार्यलयमा धर्ना दिएका छन्।
नेपाल टेलिकमको सिम तथा रिचार्ज कार्ड डिलरहरुको विभिन्न कम्पनीलाई प्रतिनिधित्व गर्ने वितरकहरुले आफ्ना समान्य मागहरु पूरा गर्न विगत तीन महिनादेखि नेपाल टेलिकम विरुद्ध आन्दोलन गरिरहेका छन्।
वितरकहरुले आफ्ना समान्य मागहरु पूरा गर्न र सहजजीकरणक गरिदिनका लागि पटक–पटक नेपाल टेलिकम आउँदा पनि मागहरु संबोधन नभएको हुनाले बुधबार र बिहीबार रिचार्ज कार्ड नउठाइएको कम्पनीका डिलर गोविन्द घिमिरेले बताएका छन्। यसले प्रतिदिन लगभग ३५ करोड रुपैयाँ कम्पनीलाई क्षति पुर्याएको उनले दाबी गरेका छन्।
“पछिल्लो दुई दिनमा नेपाल टेलिकमको रिचार्ज कार्डको बिक्री वितरणतर्फ ७० करोडको घाटा देखिएको छ,” उनले भने।
नेपाल टेलिकमका प्रतिनिधिहरुले मौखिक रुपमा राम्रो प्रतिबद्धता जनाएको तर व्यवहारिकरुपमा भने कार्यान्वयन नभएको कारणले गर्दा र दशैँको मुखैमा वितरहरुको कमिसनमा पनि रोक लगाइएको हुनाले वितरकहरु आन्दोलनमा उत्रिएको उनीहरुले उल्लेख गरेका छन्।
यसअघि, नेपाल टेलिकम वर्कर्स यूनियनका अध्यक्ष विनोद घिमिरेले चाडबाडको मुखमा रिचार्ज कार्डको सहज उपलब्धताको लागि वितरहरुलाई रिचार्ज कार्डको उठाएर बजारमा पुर्याउन आग्रह गर्दै सकेसम्म छिटो प्रशासनले उनीहरुको माग सम्बोधन गर्ने जानकारी दिएका थिए।

प्रकाशित: ९ आश्विन २०८२, बिहीबार