Technology Khabar ८ आश्विन २०८२, बुधबार
काठमाडौं ।
नेपालमा स्मार्टफोनको आयात बढ्ने क्रम अझ विस्ता हुँदै गइरहेको देखिएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना अर्थात् भदौसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा स्मार्टफोन आयात झन् झन् वृद्धि हुदै गइरहेको पाइएको हो।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना अर्थात् साउन मसान्तसम्म ३ अर्ब ४१ करोड ९२ लाख २२ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको थियो। यस अवधिमा उक्त रकम बराबरको १ लाख ३८ हजार ३३३ थान स्मार्टफोन आयात भएको विवरणमा उल्लेख छ।
तर साउन मसान्तदेखि भदौ मसान्तसम्मको एक महिनामा स्मार्टफोनको सङ्ख्या र त्यसका लागि बाहिरिएको रकममा उल्लेख्य बढोत्तरी भएको छ।
साउनबाट भदौ मसान्तसम्म पुग्दा २ लाख ७० हजार ३६० थान स्मार्टफोन आयात भएर समग्रमा ५ लाख ८ हजार ९६३ पुगेको छ। यसैगरी रकम पनि ५ अर्ब ४५ करोड ६७ लाख ५८ हजारले वृद्धि भएर समग्रमा ८ अर्ब ८७ करोड ५९ लाख ८० हजार पुगेको छ।
चालु आवमा सरकारले स्मार्टफोनको आयातबाट १ अर्ब ६५ करोड ५८ लाख २ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। नेपालमा यो अवधिमा ३४ मुलुकबाट स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। यो महिनामा चीनबाट ६ अर्ब ६४ करोड ८६ लाख ३४ हजार रुपैयाँ बराबरको ४ लाख २८ हजार ९३२ थान स्मार्टफोन आयात भएको छ।
भारतबाट २ अर्ब १४ करोड ८२ लाख ३३ हजार रुपैयाँ बराबरको ७८ हजार ८८३ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
क्रं स | देश | विवरण (थान) | रकम (हजारमा) |
१ | चीन | ४२८९३२ | ६६४८६३४ |
२ | भारत | ७८८८३ | २१४८२३३ |
३ | जापान | २०३ | १६६७० |
४ | यूएई | २६२ | २१७९८ |
५ | अस्ट्रेलिया | ८१ | ९२५२ |
६ | सं.रा. अमेरिका | १०३ | १०८२५ |
७ | दक्षिण कोरिया | ६२ | ३८४५ |
८ | कतार | ४३ | ५०७० |
९ | मलेसिया | १५ | ९२१ |
१० | क्यानडा | १४ | १३८४ |
११ | हङकङ | ११ | १३८४ |
१२ | बेलायत | २६ | २४०० |
बाँकी ३२ मुलुकबाट पनि विभिन्न परिमाण र रकमका स्मार्टफोनहरु आयात भएको विवरणले देखाएको छ।
प्रकाशित: ८ आश्विन २०८२, बुधबार