क्वान्टम इन्टरनेटले मूर्त रुप लिँदै, वैज्ञानिकहरु नयाँ क्यू चिपमार्फत् फाइबर–अप्टिक केबलमार्फत क्वान्टम सिग्नल पठाउन सफल

Technology Khabar ८ आश्विन २०८२, बुधबार

क्वान्टम इन्टरनेटले मूर्त रुप लिँदै, वैज्ञानिकहरु नयाँ क्यू चिपमार्फत् फाइबर–अप्टिक केबलमार्फत क्वान्टम सिग्नल पठाउन सफल

काठमाडौं ।

वैज्ञानिकहरूले अहिले प्रयोग भइरहेको वेबलाई चलाउने फाइबर–अप्टिक केबलमार्फत क्वान्टम सिग्नल पठाउन सफल भएका छन्। यसलाई कार्यशील क्वान्टम इन्टरनेटतर्फको ठूलो कदम मानिएको छ।

अगस्ट २८ मा साइन्स पत्रिकामा प्रकाशित अध्ययनअनुसार अनुसन्धानकर्ताहरूले विशेष क्वान्टम चिप प्रयोग गरेर क्वान्टम डाटा र सामान्य अप्टिकल सिग्नल एउटै प्याकेजमा राखी व्यावसायिक पूर्वाधारमार्फत पठाए।

क्वान्टम डाटा इन्टरनेट प्रोटोकल आईपी प्रयोग गरेर पठाइएको यो पहिलो पटक हो। आईपी नै आजको ब्रडब्यान्ड नेटवर्कको आधारभूत स्ट्याण्डर्ड हो। यसले क्वान्टम सञ्चारका लागि छुट्टै पूर्वाधार बनाउनुपर्ने आवश्यकतालाई कम गरिदिएको छ।

“अघिल्ला प्रयोगहरू अलग्गै ल्याबमा वा विशेष पूर्वाधारमा सीमित थिए। यसपटक भने हामीले वास्तविक नेटवर्कमा क्वान्टम सञ्चार एकीकृत गरेका छौं,” अमेरिकाको पेनसिल्भेनिया विश्वविद्यालयका प्राध्यापक लियाङ फेंगले भने।

फेंगका अनुसार क्यू चिपले क्वान्टम र क्लासिकल दुवै सिग्नललाई एउटै फाइबर–अप्टिक केबलमार्फत समान तालमेलमा पठाउन सक्षम बनाउँछ। क्लासिकल सिग्नलले मार्गनिर्देशन र समयसम्बन्धी जानकारी बोक्छ, जसलाई राउटरहरूले पढेर डाटालाई गन्तव्यमा पुर्‍याउँछन्, तर क्वान्टम सिग्नललाई छुनु पर्दैन।

यसरी, क्वान्टम अवस्थालाई नष्ट नगरी क्लासिकल ‘हेडर’ मार्फत क्वान्टम सिग्नल रूट गर्न सकिने देखाइएको छ। यही कारण यसलाई हालसम्मको सबैभन्दा व्यवहारिक उपलब्धि भनिएको लाइभसाइन्सले उल्लेख गरेको छ।

यस प्रणालीलाई परीक्षण गर्न भेरिजोनको व्यावसायिक फाइबर प्रयोग गरी १ किलोमिटर लामो नेटवर्कमा सर्भर र रिसिभरबीच डाटा आदान–प्रदान गरिएको थियो। वातावरणीय हस्तक्षेपले दुवै सिग्नलमा समान असर पार्ने भएकाले क्लासिकल सिग्नल प्रयोग गरी शोर सुधार गरियो, जसले क्वान्टम अवस्थालाई नबिगारी गन्तव्यसम्म डेटा पुर्‍याउन सहयोग गर्‍यो।

अनुसन्धान टोलीका अनुसार क्यू चिप सिलिकनमा बनेको भएकाले अहिलेको उत्पादन प्रक्रियाबाट सजिलै ठूलो स्तरमा बनाउन सकिन्छ। आगामी ५ देखि १० वर्षभित्र स्थानीय वा महानगरीय स्तरमा क्वान्टम इन्टरनेटको प्रारम्भिक चरण सुरु हुने सम्भावना छ। यसको प्रयोग सुरक्षित सञ्चार, क्वान्टम कम्प्युटरहरूबीच जडान तथा अत्यन्त सूक्ष्म नेभिगेसन वा समय मापन जस्ता क्षेत्रमा हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ८ आश्विन २०८२, बुधबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार