Technology Khabar ४ आश्विन २०८२, शनिबार
काठमाडौं ।
गुगल क्लाउडले बिहीबार एआई स्टार्टअप लभेबल र विन्डसर्फलाई आफ्नो ग्राहकको सूचीमा थपेको घोषणा गरेको छ। यी दुवैले गुगल क्लाउडलाई आफ्नो मुख्य क्लाउड कम्प्युटिङ प्रदायकका रूपमा रोजेका छन्, जसले एडलाभ्यूएस र माइक्रोसफ्ट अजुरजस्ता ठूला प्रतिस्पर्धीहरूविरुद्ध गुगलको बढ्दो उपस्थिति देखाएको छ।
यी सम्झौताले क्लाउड व्यवसायलाई कम्पनीको भविष्यको केन्द्रमा ल्याउने गुगलको प्रयासलाई पनि प्रष्ट पारेका छन्। हाल गुगल क्लाउड अझै एडलाभ्यूएस, माइक्रोसफ्ट, र गुगलकै ठूलो विज्ञापन व्यवसायभन्दा पछि देखिन्छ। तर यसले तीव्र प्रगति गरिरहेको छ।
गुगलका अनुसार क्लाउड विभाग कम्पनीको सबैभन्दा छिटो बढ्ने व्यवसायमध्ये एक हो। अघिल्लो त्रैमासिक नतिजामा क्लाउड विभागको वार्षिक कारोबार दर ५० अर्ब डलर पुगेको थियो।
यसै हप्ताको कार्यक्रममा क्लाउड प्रमुख थोमस कुरियनले अर्को दुई वर्षमा ५८ अर्ब डलरको नयाँ आम्दानी सुनिश्चित भएको बताएका छन्। गुगलले २०२४ मा क्लाउड सेवाबाट ४३.२ अर्ब डलर र २०२३ मा ३३.१ अर्ब डलर कमाएको थियो।
टेकक्रञ्चका अनुसार अग्रणी एआई स्टार्टअपहरूसँग सम्झौता गर्नु गुगल क्लाउडको वृद्धिको प्रमुख कारण बनेको छ। विभागका अनुसार विश्वका शीर्ष १० एआई ल्याबमध्ये ९, जसमा सेफ सुपरइन्टेलिजेन्स र ओपनएआई पनि पर्छन्, गुगल क्लाउडमा चलिरहेका छन्।
त्यस्तै विश्वका ६० प्रतिशत जेनेरेटिभ एआई स्टार्टअपहरूसँग पनि गुगल क्लाउड काम गरिरहेको छ। गत वर्ष मात्र नयाँ एआई स्टार्टअपहरूले गुगल क्लाउड रोज्ने दर २० प्रतिशत बढेको बताइएको छ।
लभेबल र हालै कग्निशनले अधिग्रहण गरेको विन्डसर्फजस्ता कम्पनीहरूको खर्च अग्रणी ल्याब वा ठूला कम्पनीहरूभन्दा कम भए पनि भविष्यमा ठूलो व्यवसाय बन्ने अनुमान गरिएको छ।
गुगलका अनुसार यी दुवै ‘भाइब-कोडिङ’ स्टार्टअपहरूले आफ्ना उत्पादनहरू चलाउन जेमिनी २.५ प्रो प्रयोग गरिरहेका छन्। विन्डसर्फले कग्निशनको एआई एजेन्ट डेभिनसँगको इन्टिग्रेशनमा पनि जेमिनी मोडेल प्रयोग गरिरहेको छ।
एआई मोडेल प्रशिक्षण, फाइन-ट्युनिङ र सञ्चालनको उच्च क्लाउड लागतले विकासकर्ताहरूका लागि चुनौती बने पनि क्लाउड व्यवसायका लागि फाइदाजनक भएको छ। बजार अनुसन्धान संस्था सिनर्जी रिसर्चका अनुसार विश्वव्यापी क्लाउड बजार २०२५ मा ४०० अर्ब डलर नाघ्ने र आगामी पाँच वर्षमा वार्षिक २० प्रतिशत दरले बढ्नेछ।
गुगलले बिहीबार पहिलोपटक गुगल एआई बिल्डर्स फोरम आयोजना गर्दै सयौँ एआई स्टार्टअप संस्थापकलाई एक ठाउँमा ल्यायो र गुगल क्लाउडमा आधारित ४० भन्दा बढी नयाँ एआई स्टार्टअप घोषणा गर्यो। लभेबल र विन्डसर्फसँगै सेकोइयाले लगानी गरेको फ्याक्टरी एआई र आन्द्रेसेन होरोविट्जले समर्थन गरेको क्रेआ एआई पनि ग्राहकको रूपमा प्रस्तुत गरिएका थिए।
धेरै एआई स्टार्टअपले गुगल क्लाउड रोज्नुको एउटा कारण कम्पनीले दिने आकर्षक सुविधा हो। गुगल फर स्टार्टअप्स क्लाउड प्रोग्राममार्फत गुगलले ३.५ लाख डलरसम्म क्लाउड क्रेडिट उपलब्ध गराउँछ। त्यस्तै, वाई कम्बिनेटर एक्सेलेरेटर प्रोग्राममा सहभागी स्टार्टअपका लागि एनभिडिया जीपीयू क्लस्टरसमेत विशेष रूपमा उपलब्ध गराइएको छ।
प्रकाशित: ४ आश्विन २०८२, शनिबार