Technology Khabar ३ आश्विन २०८२, शुक्रबार
काठमाडौं ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गत भदौ २३ र २४ गते ‘जेनजी’ले आह्वान गरेको शान्तिपूर्ण प्रदर्शन क्रममा ज्यान गुमाएका सबैप्रति दुःख व्यक्त गरेका छन्।
साथै उनले प्रदर्शनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको र आफूले पनि स्वास्थ्य लाभ गरिरहेको उनका स्वकीय सचिव भानु देउवाले विज्ञप्तिमार्फत उल्लेख गरे।
स्वकीय सचिव भानु देउवाले त्यस्तो जघन्य आपराधिक घटनापछि पनि पार्टी र पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जालमा ‘देउवा निवासमा अत्यधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरूङ रहेको’जस्ता कपोकल्पित समाचार सम्प्रेषण भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमा देखाइएका दृष्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दूषित मनासयले बदनाम गर्ने उदेश्यले फैलाइएका भ्रामक समाचार भएको विज्ञप्तिमा उल्लेख छ।
त्यस्ता बदनाम गराउने उदेश्यले विषेशगरी सामाजिक सञ्जालमा फैलाइएका हल्लामा कुनै सत्यता नभएको र विभिन्न सामाजिक सञ्जालमा घरभित्र रहेको ‘अण्डर ग्राउण्ड’ ट्याङ्कीलाई विभिन्न अनुमान गरेर प्रचारप्रसार गरेको देखिएकाले उक्त पानी ट्याङ्की रहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ ।
जनमानसमा अपमानित गर्ने मनासयले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृष्यहरू जोडेर सम्पादित फोटो र भिडियोहरू युट्युब तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको पाइएको भन्दै त्यसमा कुनै सत्यता नभएको विज्ञप्तिमा उल्लेख छ।
स्वकीय सचिव भानु देउवाले त्यस्ता बदनाम गर्ने नियतले फैलाइएको भ्रामक सूचनाको पछि नलाग्न आमनेपाली तथा पार्टीका सम्पूर्ण नेता एवं सदस्यलगायत सम्बन्धित सबैसँग अनुरोध गरे। रासस
प्रकाशित: ३ आश्विन २०८२, शुक्रबार