वित्तीय प्रणाली सुरक्षित: गभर्नर पौडेल

Technology Khabar २ आश्विन २०८२, बिहीबार

वित्तीय प्रणाली सुरक्षित: गभर्नर पौडेल

काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा समग्र वित्तीय प्रणालीमा कुनै असर नपरेको बताएका छन्।

केही बैङ्कका शाखा, काउन्टर र एटिएममा क्षति भए पनि प्राविधिक प्रणाली सुरक्षित रहेको उनले बताएका हुन्। सुशान्त प्रधानलाई दिएको पडकास्टमा गभर्नर पौडेलले देशभरमा बैङ्कका कुल ६५ वटा शाखा र ६९ वटा एटिएममा तोडफोड भएको जानकारी गराए। उनका अनुसार सबैभन्दा धेरै क्षति बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको शाखामा भएको छ।

सो शाखाबाट पाँच करोड रुपैयाँ नगद र १८ किलो सुन गरी करिब ३५ करोड रुपियाँको नोक्सानी भएको छ। क्षति पुगेका अधिकांश शाखा तथा एक्सटेन्सन काउन्टर र एटिएम सरकारी कार्यालयमा रहेका तथा भाटभटेनी स्टोरमा रहेका एटिएम छन्। एटिएम तोडफोड भए पनि त्यहाँभित्रको नगद भने सुरक्षित रहेको पाइएको उनले बताए।

“कैदीहरू हुलका हुल भागेकाले ठूलो क्षति हुन्छ कि भन्ने डर थियो तर भाग्यवश सबै प्रणाली सुरक्षित रह्यो,” उनले भने, “कसैको पनि लकरमा क्षति भएको छैन, खाताको रकम पनि पूर्ण सुरक्षित छ ।”

गभर्नर पौडेलले आगजनी र लुटपाटलगत्तै बैङ्कका केही प्रमुख कार्यकारी अधिकृत तथा उद्यमी व्यवसायी संस्थाका प्रतिनिधिसँग छलफलसमेत गरेका थिए।

राहत तथा पुनरुत्थानका लागि अर्थ मन्त्रालयको अहम् भूमिका हुने भए पनि मौद्रिक नीतिमार्फत हुन सक्ने सहुलियत मर्का परेका प्रतिष्ठान तथा व्यक्तिलाई उपलब्ध गराइने उनले बताए। छलफलमा क्षतिको विस्तृत यकिन विवरण तयार गर्न उद्यमी तथा बैङ्करलाई उनले आग्रह गरे।

आजको गोरखापत्रबाट

प्रकाशित: २ आश्विन २०८२, बिहीबार

Sajilo Visa
तपाइको प्रतिक्रिया