Technology Khabar २ आश्विन २०८२, बिहीबार
काठमाडौं ।
अगस्टमा नानो बनाना इमेज एडिटर मोडेल सार्वजनिक गरेपछि गुगलको जेमिनी मोबाइल एपको प्रयोग तीव्र रूपमा बढेको छ। जटिल सम्पादन सजिलै गर्ने र वास्तविकजस्तो देखिने तस्बिर बनाउन सकिने सुविधा पाएपछि प्रयोगकर्ताबाट सकारात्मक प्रतिक्रिया आएको छ।
एपले विश्वभरका एप स्टोरको चार्टमा शीर्ष स्थान लिएको छ। एप इंटेलिजेन्स कम्पनी एपफिगर्सका तथ्यांकअनुसार सेप्टेम्बरको पहिलो दुई सातामै डाउनलोड अघिल्लो महिना भन्दा ४५ प्रतिशतले बढेको छ। सेप्टेम्बरमै जेमिनीले १ करोड २६ लाख डाउनलोड गरिसकेको छ, जुन अगस्टको ८७ लाखभन्दा धेरै हो।
यसअघि सन् २०२५ जनवरी २८ मा मात्र यो एप अमेरिकी एप स्टोरमा तेस्रो स्थानसम्म पुगेको थियो। तर, न्यानो बनाना सार्वजनिक भएलगत्तै सेप्टेम्बर ८ मा दोस्रो स्थानमा उक्लिएको जेमिनी सेप्टेम्बर १२ मा पहिलो नम्बरमा पुगेको हो। यसपछि ओपनएआईको च्याटजीपीटी दोस्रो स्थानमा झरेको छ। हाल अमेरिकी एप स्टोरको शीर्ष १० मा जेमिनीबाहेक कुनै अन्य एआई एप छैन।
एपफिगर्सका अनुसार जेमिनी १०८ देशमा आइफोनका शीर्ष पाँच एपमध्ये परेको छ। गुगल प्लेमा भने सेप्टेम्बर ८ मा अमेरिकी समग्र एप सूचीमा २६ औं स्थानमा रहेको जेमिनी हाल दोस्रो स्थानमा पुगेको छ। तर, च्याटजीपीटी अझै शीर्ष स्थानमै छ।
गुगलका जेमिनी तथा गुगल ल्याब्सका उपाध्यक्ष जोस वुडवार्डले सेप्टेम्बर ८ मा एक्समार्फत जानकारी दिँदै न्यानो बनाना सार्वजनिक भएयता २ करोड ३० लाख नयाँ प्रयोगकर्ता थपिएको र ५० करोडभन्दा बढी तस्बिर सेयर गरिएको बताएका थिए।
टेकक्रञ्चका अनुसार जेमिनीको तीव्र लोकप्रियतासँगै उपभोक्ता खर्च पनि बढेको छ। यो वर्ष केवल आइओएसमा मात्रै ६३ लाख डलर आम्दानी भएको छ, जसमा १६ लाख डलर अगस्ट महिनाबाटै आएको हो। जनवरीमा जम्मा १ लाख १५ हजार डलर आम्दानी भएको एपको आम्दानीमा १,२९१ प्रतिशत वृद्धि भएको अनुमान एपफिगर्सले गरेको छ।
सेप्टेम्बरमा जेमिनीले अहिलेसम्म ७ लाख ९२ हजार डलर आर्जन गरिसकेको छ, जुन अगस्टमा भएको कुल आम्दानीको करिब आधा हो। यस वर्ष मात्रै जेमिनी १० करोड ३७ लाख पटक डाउनलोड भइसकेको छ भने सन् २०२४ फेब्रुअरीमा एन्ड्रोइडमार्फत सुरु भएको एप हालसम्म १८ करोड ५४ लाख पटक डाउनलोड भएको छ।
प्रकाशित: २ आश्विन २०८२, बिहीबार