सञ्चारगृहमा भएका क्षतिको महासङ्घद्वारा अनुगमन

Technology Khabar ३१ भाद्र २०८२, मंगलवार

सञ्चारगृहमा भएका क्षतिको महासङ्घद्वारा अनुगमन

काठमाडौं ।

जेनजी आन्दोलनका क्रममा सञ्चारगृहहरुमा पनि क्षति पुगेको छ । आन्दोलनका क्रममा कान्तिपुर टेलिभिजन, कान्तिपुर पब्लिकेसन, अन्नपूर्ण पोष्ट, थाहासञ्चार नेटवर्कलगायत सञ्चारगृहमा क्षति पुगेको छ। संरचनालाई प्रतीकात्मक रुपमा देखाएर सञ्चारगृहले सेवा दिई रहेका छन्।

सञ्चारगृहमा भएको क्षतिको नेपाल पत्रकार महासङ्घले अनुगमन गरेको छ। सोमबार स्थलगत अनुगमन गर्दा सञ्चारकर्मीले भौतिक संरचना ध्वस्त भए पनि पत्रकारितालाई जीवित राखेर लोकतन्त्रको रक्षा गरेको महासङ्घले निष्कर्ष निकालेको छ।

यद्यपि आन्दोलनका क्रममा सञ्चारगृहका भौतिक संरचनामा क्षति पुग्नाका साथै पत्रकारहरुमाथि शारीरिक कुटपिट हुनु अत्यन्त निन्दनीय रहेको महासङ्घले जनाएको छ।

आन्दोलनमा ठूलो भौतिक र शारीरिक क्षति पुगे पनि सूचना प्रवाहमा पत्रकारिताको दायित्व कायम राख्नु प्रशंसनीय रहेको महासङ्घका अध्यक्ष निर्मला शर्माले बताइन्।

सञ्चारगृह र पत्रकारमाथि भएको क्षतिको अनुगमनको विस्तृत प्रतिवेदन केही समयपछि प्रकाशन गरिने महासङ्घका अध्यक्ष शर्माले जानकारी दिइन्। उनका अनुसार कान्तिपुर, अन्नपूर्ण पोष्ट, कान्तिपुर एफएमलगायत केही सञ्चारगृहमा नियोजित ढङ्गले तोडफोड र आगजनी गरिएको पाइएको छ।

त्यसैगरी उपत्यका बाहिर पनि पत्रकार र केही सञ्चारगृहमा क्षति पुगेको छ। जेनजीको आन्दोलनको बहानामा आ–आफ्नो स्वार्थ लिएका समूहले सञ्चारगृहमाथि तोकेर आक्रमण गरेको पाइएको उनले बताइन्।

महासङ्घको अनुगमनपछि सरकारसमक्ष घाइते पत्रकारहरुलाई तत्काल र दीर्घकालीन उपचारको व्यवस्था गर्नाका साथै मिडियामाथि भएको तोडफोडको क्षतिपूर्तिको माग गर्ने निर्णय गरेको अध्यक्ष शर्माको भनाइ छ।-रासस

प्रकाशित: ३१ भाद्र २०८२, मंगलवार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार