अमेरिकी न्याय विभागद्वारा उबरविरुद्ध मुद्धा दायर

Technology Khabar २८ भाद्र २०८२, शनिबार

अमेरिकी न्याय विभागद्वारा उबरविरुद्ध मुद्धा दायर

काठमाडौं ।

अमेरिकी न्याय विभागले उबर विरुद्ध मुद्धा दायर गरेको छ। राइड–हेलिङ कम्पनीले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूमाथि भेदभाव गर्दै संघीय कानुन उल्लङ्घन गरेको आरोप लगाइएको हो।

न्याय विभागको सिभिल राइट्स डिभिजनका अनुसार कम्पनी र चालकहरूले नियमित रूपमा सेवा जनावर (सर्भिस एनिमल्स) लिएर यात्रा गर्ने वा स्टोवेबल व्हीलचेयर प्रयोग गर्ने व्यक्तिलाई सेवा दिन अस्वीकार गर्ने गरेको आरोप छ।

उबरले विशेष आवश्यकतायुक्त यात्रुहरूलाई अतिरिक्त शुल्क लिएको, सेवा नदिँदा समेत क्यान्सलेसन शुल्क असुल गरेको लगायतका कार्यले अमेरिकन्स विद डिजेबिलिटिज एक्टको उल्लङ्घन गरेको विभागले जनाएको छ।

“अपाङ्गता भएका व्यक्तिका लागि सेवाको महत्व हुँदाहुँदै पनि उबर ले उनीहरूलाई पूर्ण र समान पहुँचबाट वञ्चित गराएको छ,” न्याय विभागका वकिलहरूले भनेका छन्।

विभागका अनुसार कम्पनीले अपाङ्गता भएका यात्रुमाथि भेदभाव नगर्न आवश्यक परेमा आफ्ना नीतिहरू परिमार्जन गर्न समेत अस्वीकार गरेको छ। यसले अपाङ्गता भएका व्यक्तिलाई ठूलो आर्थिक, भावनात्मक र शारीरिक क्षति पुर्‍याएको दाबी गरिएको छ।

उबर ले भने विभागका आरोपसँग मौलिक रूपमा असहमति जनाउँदै आफूले “कन्फर्म्ड सर्भिस डिनायल” विरुद्ध स्पष्ट शून्य-सहनशीलता नीति अपनाएको जनाएको छ। कम्पनीले जारी गरेको वक्तव्यमा भनिएको छ, “हरेक चालकले हाम्रो यूएस एनिमल पोलिसी र सम्बन्धित कानुन पालना गर्ने भनेर सहमति जनाउनुपर्छ। उल्लङ्घन पुष्टि भएमा खाता स्थायी रूपमा बन्द गर्ने जस्ता कदम चालिन्छ।”

उबरमाथि यसअघि पनि यस्तै आरोप लाग्दै आएको छ। २०२१ मा न्याय विभागले कम्पनीविरुद्ध अपाङ्गता भएका यात्रुहरूलाई अतिरिक्त शुल्क लगाएको भन्दै मुद्दा दायर गरेको थियो।

त्यसको परिणामस्वरूप २०२२ मा कम्पनीले करिब ६५ हजार प्रभावित प्रयोगकर्तालाई करोडौँ डलर क्षतिपूर्ति दिनेगरी समझौता गरेको थियो। कम्पनीमाथि व्यक्तिगत यात्रुहरूले पनि यस्ता भेदभावबारे मुद्दा दायर गर्दै आएका छन्, साथै सार्वजनिक प्रदर्शनसमेत भएका छन्।

न्याय विभागले क्यालिफोर्नियाको उत्तरी जिल्ला संघीय अदालतमा बिहीबार दायर गरेको उजुरीअनुसार २०२४ मा नै उबर लाई अपाङ्गता भएका यात्रुप्रति उसको व्यवहारबारे अनुसन्धान भइरहेको जानकारी दिइएको थियो। त्यसपछि मात्र कम्पनीले सेवा जनावरसहित यात्रा गर्ने यात्रुले आफूलाई पहिचान गर्न सक्ने सुविधा एपमार्फत थपेको विभागले जनाएको छ।

प्रकाशित: २८ भाद्र २०८२, शनिबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार

Colombian court backs porn actress in Meta nudity case

  • Technology Khabar
  • २८ भाद्र २०८२, शनिबार