
काठमाडौं ।
टोकियो । जापानी कार निर्माता कम्पनी होन्डाले मङ्गलबार बेलायतको ठूलो मोटर उत्पादन प्लान्ट बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले प्लान्ट बन्द गरेसँगै सो प्लान्टमा काम गर्ने करिब ३ हजार ५०० जनाको रोजगारी गुम्ने भएको छ।
बेलायतको दक्षिणपश्चिम स्वीन्डोनमा रहेको प्लान्ट होन्डाको युरोपेली युनियनमा रहेको एक मात्र प्लान्ट हो । यो प्लान्टबाट होन्डाको “सिभिक” मोडेलको कार विगत २४ वर्षदेखि उत्पादन हुँदै आएको थियो । यस प्लान्टबाट वार्षिक करिब एक लाख ५० हजार कार उत्पादन हुने गर्दछन्, जून यूरोपेली मुलुकहरुसहित अमेरिकामा पनि निर्यात हुँदै आएको थियो ।
विश्वको कार उद्योगमा आएको परिवर्तनहरु र इलेक्ट्रीक भेहिकल लन्च गर्ने आवश्यकताले गर्दा यो घोषणा गरिएको हो, यसमा ब्रेजिक्टको कुनै सम्बन्ध छैन्, यो प्लान्ट सन् २०२१ देखि पूर्ण रुपमा बन्द हुनेछ, होन्डाले भनेको छ ।
युरोपेली क्षेत्रका प्रमुख अधिकृत काट्सुसी इनोउले एक विज्ञप्ति जारी गरी कम्पनीको यो निर्णय निकै कष्टपूर्ण रहेको बताएका छन् ।
गत वर्ष होन्डाका युरोपेली वरिष्ठ उपाध्यक्ष इयान हावेल्सले बिना सम्झौता युरोपेली युनियनबाट बेलायतको बहिर्गमन भएमा त्यसले कम्पनीलाई करोडौं पाउन्ड घाटा हुने बताएका थिए ।
कम्पनीले कार उत्पादन गर्ने प्लान्ट बन्द गरेपनि यूरोपको हेडक्वाटर भने बेलायतमा नै रहने उल्लेख गरेको छ ।
प्रकाशित: ७ फाल्गुन २०७५, मंगलवार