Technology Khabar २६ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
जेनजीको प्रदर्शनको क्रममा थापाथली स्थित सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा रहेको प्रमुख डाटा सेन्टरमा क्षति भएपछि अवरुद्ध भएको इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन्स लिमिटेडको सेवा संचालनमा आएको छ। कम्पनीले हालै इन्टरनेट र भाया टिभी सेवामा आएको अवरोधका लागि ग्राहकहरूसमक्ष माफी माग्दै सेवा शुचारु गरेको जानकारी दिएको छ।
“भदौ २४ गते साँझ करिब ४:४५ बजे, प्रदर्शनका क्रममा लागेको आगलागीले सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा (कान्तिपुर मिडिया ग्रुप रहेको भवन) अवस्थित हाम्रो प्रमुख डाटा सेन्टरमा क्षति पुर्यायो। यद्यपि हामीसँग ब्याकअप डाटा सेन्टरहरू रहेका छन्, यस्तो महत्वपूर्ण संरचना अचानक गुमाउँदा ती सबै ग्राहकको इन्टरनेट ट्राफिक सम्हाल्न पर्याप्त भएनन् र सेवा देशभर अवरुद्ध भयो,” कम्पनीले भनेको छ।
कम्पनीले प्राविधिक टोली तुरुन्तै खटाइएको, तर भवन असुरक्षित हुँदा तत्काल काम गर्न नसकिएको जनाएको छ।
“त्यसबीचमा ब्याकअप डाटा सेन्टरमार्फत आंशिक रूपमा इन्टरनेट चलाउन सकियो। तर धेरै ग्राहक अझै प्रभावित भए। त्यतिबेला भीयाटिभी सेवा अनलाइन ल्याउन सकिएन किनभने पहिलो प्राथमिकता इन्टरनेट सेवा सुचारु गर्नु थियो,” विज्ञप्तीमा उल्लेख छ।
भदौ २५ गते बिहान, सेना र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएपछि दिउँसो करिब १२ बजे भायानेटको प्राविधिक टोलीले आवश्यक सर्भरहरू सुरक्षित रूपमा बाहिर ल्याएर अर्को सुरक्षित डाटा सेन्टरमा पुनःस्थापना गरेका थिए।
कम्पनीकाअनुसार अहिले अधिकांश ग्राहकको इन्टरनेट सेवा सुचारु भइसकेको छ, र आजै साँझसम्म पूर्ण क्षमतामा सेवा सञ्चालन गर्ने लक्ष्य रहेको छ। यसैगरी भायाटिभी सेवा पनि चाँडै सुचारु गरिने जानकारी दिएको छ।
प्रकाशित: २६ भाद्र २०८२, बिहीबार