Technology Khabar २७ भाद्र २०८२, शुक्रबार
काठमाडौं ।
ओर्याकलले बुधबार बजार बन्द भएपछि सार्वजनिक गरेको नतिजाले यसको सेयर मूल्य उचालिएको छ। कम्पनीले थुप्रै ग्राहकसँग बहु-अर्ब डलरका सम्झौता गरेको जनाएको थियो। अब ती ग्राहक को हुन् भन्नेबारे केही विवरण बाहिर आएको छ।
वाल स्ट्रीट जर्नलको रिपोर्टअनुसार, ओर्याकलले ओपनएआईसँग सम्झौता गरेको छ, जसअन्तर्गत ओपनएआईले करिब पाँच वर्षको अवधिमा ३०० अर्ब डलर बराबरको कम्प्युट पावर खरिद गर्नेछ। यो खरिद २०२७ बाट सुरु हुने बताइएको छ।
डब्लुएसजेको रिपोर्ट सही भएमा भने यो इतिहासकै ठूला क्लाउड सम्झौतामध्ये एक हुनेछ। ओर्याकलले यसबारे कुनै टिप्पणी गरेको छैन भने ओपनएआईले पनि प्रतिक्रिया दिएको छैन।
ओर्याकलसँग ओपनएआईको पुरानो सहकार्य छ। २०२४ को गर्मीमा नै ओपनएआईले ओर्याकलको कम्प्युट प्रयोग गर्न थालेको थियो। यसअघि माइक्रोसफ्ट अजुरलाई मात्र क्लाउड प्रदायकको रूपमा प्रयोग गर्दै आएको ओपनएआईले गत जनवरीदेखि वैकल्पिक प्रदायकसमेत रोज्न थालेको थियो।
यो कदम ओपनएआई, सफ्टबैंक र ओर्याकलले आगामी चार वर्षमा ५०० अर्ब डलर लगानी गर्ने ‘स्टारगेट प्रोजेक्ट’ सँग मेल खाने गरी आएको हो। यस प्रोजेक्ट अन्तर्गत अमेरिकाभित्र ठूलो स्तरका डाटा सेन्टर बनाइनेछ।
ओपनएआईलाई सकेसम्म बढी कम्प्युटर आवश्यक परेको प्रष्ट देखिएको छ। यसै वर्ष वसन्तमा रोयटर्सका अनुसार कम्पनीले गुगलसँग पनि क्लाउड सम्झौता गरेको छ, यद्यपि दुवै कम्पनी कृत्रिम बुद्धिमत्तामा अग्रता हासिल गर्न प्रत्यक्ष प्रतिस्पर्धी रहेका छन्।
प्रकाशित: २७ भाद्र २०८२, शुक्रबार