खेलकुद इभेन्ट लाइभ गर्ने भारतीय एआई स्टार्टअप भिडियोभर्सलाई अधिग्रहण गर्दै माइन्युट मिडिया

Technology Khabar २५ भाद्र २०८२, बुधबार

खेलकुद इभेन्ट लाइभ गर्ने भारतीय एआई स्टार्टअप भिडियोभर्सलाई अधिग्रहण गर्दै माइन्युट मिडिया

काठमाडौं ।

ब्ल्याकरक र गोल्डमन स्याख्सको समर्थनमा रहेको मिडिया स्टार्टअप माइन्युट मिडियाले सोमबार भारतीय एआई स्टार्टअप भिडियोभर्सलाई अधिग्रहण गर्ने घोषणा गरेको छ।

माइन्युट मिडियाले स्पोर्ट्स इलस्ट्रेटेड, द प्लेयरस् ट्रिब्युन र ९० मिनेट्स जस्ता प्लेटफर्महरू सञ्चालन गर्दै आएको छ। भिडियोभर्सले प्रसारकलाई खेलकुद फुटेजबाट हाइलाइट्स निकाल्न र सामग्री बनाउन सहयोग गर्ने गर्छ। यसको क्लाइन्टमा इन्डियन प्रिमियर लिग, वुमेन्स प्रिमियर लिग क्रिकेट, फिफा+, निप्पन टिभी र कब्बर टिभी रहेका छन्।

टेकक्रञ्चका अनुसार मुम्बईस्थित भिडियोभर्स सन् २०१६ मा विनायक श्रीवास्तवले स्थापना गरेका हुन्। यस कम्पनीमा ब्लुस्टोन इक्विटी पार्टनर्स, ए९१ पार्टनर्स (पूर्व सेकोइया इन्डियाका कार्यकारीहरूले बनाएको फण्ड) र मोनेटा भेन्चर्सले लगानी गरेका छन्। हालसम्म यसले १०५ मिलियन डलर उठाइसकेको छ।

माइन्युट मिडिया वा भिडियोभर्सले सौदाको मूल्य सार्वजनिक नगरे पनि टेकक्रन्चलाई स्रोतहरूले दिएको जानकारीअनुसार भिडियोभर्सको मूल्याङ्कन २०२३ मा भएको अन्तिम फन्डिङमा २०० देखि २५० मिलियन डलरसम्म रहेको थियो। यो अधिग्रहण पनि सोही दायरामा भएको बताइएको छ।

माइन्युट मिडियाका प्रमुख कार्यकारी असाफ पिलेडले भिडियोभर्सको अधिग्रहण कम्पनीको मूल्य र आकार दुवै हिसाबले अहिलेसम्मकै ठूलो भएको बताएका छन्। कम्पनीले प्लेयरस् ट्रिब्युन, फ्यानसाइडेड, मेन्टल फ्लस र एसटीएन भिडियो जस्ता प्लेटफर्महरू पनि अधिग्रहण गरेर वृद्धि गरेको छ।

श्रीवास्तवका अनुसार भिडियोभर्सले सुरुवाती चरणमा धूमपान र मदिरा पिउने दृश्य पत्ता लगाउने, भारतीय सेन्सर बोर्डलाई फिल्म प्रमाणिकरणका लागि सहयोग गर्ने, वस्तु पहिचान गर्ने र ई–कमर्स साइटका लागि भिडियोमा वस्तु चिन्न सक्ने एआई उपकरणहरू बनाएको थियो। तर पछि यसले खेलकुद प्रसारकका लागि भिडियो सम्पादन र विश्लेषण गर्ने उपकरणमा ध्यान केन्द्रित गर्‍यो।

“सन् २०१६ मा हटस्टार (हाल जियोको स्वामित्वमा) विस्तार भइरहेको थियो र उनीहरूलाई खेल विशेष गरी क्रिकेटमा विशेष कार्यहरू चिन्न सक्ने समाधानको खोजी थियो,” श्रीवास्तवले भने।

केही वर्षपछि भिडियोभर्सले अरू उत्पादनहरू छोडेर खेल सामग्रीका लागि भिडियो सम्पादनमा मात्र ध्यान दिन थाल्यो। कम्पनीले आफ्नो मोडेल सफ्टवेयर एजे सर्भिस को रूपमा सञ्चालन गर्दै प्रसारक वा स्ट्रिमिङ सेवाले प्रक्रिया गर्न चाहेको भिडियो समयअनुसार शुल्क लिने गरेको बताएको छ।

श्रीवास्तवका अनुसार यसले वार्षिक ६५ मिलियन डलर आम्दानी गर्न सकेको छ भने यसको ईबिडिटा मार्जिन ३५ देखि ४० प्रतिशतसम्म रहेको छ।

प्रकाशित: २५ भाद्र २०८२, बुधबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार