फिनल्याण्डको यो सानो शहरमा विशाल ‘स्याण्ड ब्याट्री’ बाट निकालियो ऊर्जा: वातावरण प्रदूषण ७० प्रतिशत घट्ने दावी

Technology Khabar २३ भाद्र २०८२, सोमबार

काठमाडौं ।

फिनल्यान्डको दक्षिणी सानो नगरपालिकाले हालै विश्वकै सबैभन्दा ठूलो ‘बालुवा ब्याट्री’ जडान गरेर नगरलाई ताप आपूर्ति गर्न सुरु गरेको छ।

पोलर नाइट इनर्जीले डिजाइन गरेको यो नयाँ बालुवा ब्याट्री करिब ३० गुणा १२ मिटरको स्टील कन्टेनरभित्र बनाइएको ठूलो बालुवाको थुप्रो जस्तै हो। यसभित्र बन्द प्रणालीका पाइपमार्फत बालुवालाई तताइन्छ र दुई तह स्टील र बीचमा इन्सुलेसनले यसलाई लामो समयसम्म तातो राख्छ। पछि चिसो हावा पाइपमार्फत चलाएर तताइएको बालुवाबाट तातोपानी, वाफ वा तातो हावा उत्पादन गरिन्छ।

लाइभसाइन्सका अनुसार सौर्य र हावाजस्ता नवीकरणीय ऊर्जाले तेल वा कोइलाजस्ता परम्परागत स्रोतभन्दा भिन्न रुपमा कार्बन प्रदूषण गर्दैनन्, जसले गर्दा सन् २०५० सम्म शून्य उत्सर्जन लक्ष्य पूरा गर्न अत्यावश्यक मानिन्छ। तर यस्ता स्रोत वर्षभर निरन्तर उपलब्ध हुँदैनन्, जसका कारण भण्डारण प्रणाली आवश्यक हुन्छ।

अबुधाबीस्थित खलिफा विश्वविद्यालयका मेकानिकल र न्युक्लियर इन्जिनियरिङका प्राध्यापक मातेओ चिएसाले ऊर्जा भण्डारणलाई नवीकरणीय ऊर्जा प्रयोगको ठूलो चुनौती भनेका छन्।

ग्रिड र स्थानीय सौर्य तथा हावा ऊर्जाबाट बचत भएको शक्ति प्रयोग गरेर बालुवालाई ६०० डिग्री सेल्सियससम्म तताउन सकिने र यसरी महिनौँसम्म ऊर्जा भण्डारण गर्न सकिने पोलार नाइट इनर्जीले जनाएको छ। यो ब्याट्रीको क्षमता १० मेगावाट छ, जसले प्रतिक्षण १ करोड जुल ऊर्जासम्म दिन सक्छ र ६० देखि ४०० डिग्री सेल्सियस ताप उत्पादन गर्न सक्छ।

फिनल्यान्डमा सफल देखिएको यस प्रविधि अन्यत्र पनि प्रभावकारी हुने सम्भावना रहेको चिएसाले बताए।

बालुवाबाट तताउने प्रविधि नयाँ भने होइन। इँटा वा ढुंगाका भट्टीहरू पुरानो उदाहरण हुन्। सिलिकन र अक्सिजनको मिश्रणबाट बनेको बालुवा संसारभर सजिलै पाइन्छ, धेरै तातो भएपछि मात्र पग्लिन्छ र लामो समयसम्म तातो राख्न सक्छ।

बालुवा ब्याट्रीले प्रत्यक्ष रूपमा बिजुली उत्पादन गर्दैन। यसलाई ताप ऊर्जा भण्डारण प्रणाली भनिन्छ, जसलाई नवीकरणीय ऊर्जाबाट चार्ज गरिन्छ र माग बढी हुँदा प्रयोग गरिन्छ।

चिएसाले पोलार नाइट इनर्जीको डिजाइनलाई मजबुत भने पनि हालको संरचना घरेलु प्रयोजनका लागि महँगो हुने टिप्पणी गरेका छन्। उनले प्रत्येक धातु थपिँदा लागत बढ्ने भन्दै बालुवाभित्र हावा समान रूपमा पुग्ने गरी डिजाइन गर्न सकिए सस्तो हुने बताएका छन्।

हाल यस ब्याट्रीले लामो समयको भण्डारण भने प्रदान गर्दैन, मुख्यत: हावा ऊर्जामा देखिने उतारचढावलाई सन्तुलन गर्न प्रयोग भइरहेको छ। तर बालुवाले धेरै समयसम्म तातो नहराउने भएकाले मौसमी भण्डारणका लागि उपयुक्त हुने विशेषज्ञहरूको भनाइ छ।

चिएसाले ग्रीष्म ऋतुमा संचित सौर्य ऊर्जा जाडोमा प्रयोग गर्न सकिने प्रणाली मौसमी आवश्यकताका लागि शक्तिशाली समाधान हुने बताए।

प्रकाशित: २३ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया