सामाजिक सञ्जाल बन्दविरुद्धको जेन जीले गर्ने प्रदर्शनलाई मेयर शाहको समर्थन

Technology Khabar २२ भाद्र २०८२, आईतवार

सामाजिक सञ्जाल बन्दविरुद्धको जेन जीले गर्ने प्रदर्शनलाई मेयर शाहको समर्थन
फाइल तस्विर

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल बन्दको विरोधमा शुक्रबार हुने प्रदर्शनलाई समर्थन जनाएका छन्। उनले उमेर हदका कारण उक्त प्रदर्शनमा प्रत्यक्ष सहभागी हुन नसक्ने तर प्रदर्शनको भावना बुझ्न जरुरी रहेको भन्दै समर्थन व्यक्त गरेका हुन्।

“भोलिको र्‍याली स्पष्ट रूपमा जेनजीको हो। उहाँहरू २८ वर्षमुनिका युवाहरू हुनुहुन्छ, जसका लागि म पनि अझै बुढो देखिन्छु। उहाँहरूको इच्छा, उद्देश्य र सोच बुझ्न मेरो चासो छ,” मेयर शाहले सामाजिक सञ्जालमार्फत भनेका छन्।

उनीहरूले आयोजना गरेको प्रदर्शन स्वस्फूर्त भएको भन्दै शाहले कुनै पनि राजनीतिक दल, नेता वा कार्यकर्ताले यसलाई आफ्ना स्वार्थका लागि प्रयोग नगर्न आग्रह गरेका छन्। शाहले जेनजीलाई उनीहरु कस्तो देश देख्न चाहन्छन् भनेर सोधेका छन्।

प्रकाशित: २२ भाद्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया