
काठमाडौं ।
चीन र संयुक्त राज्य अमेरिकाका इन्जिनियरहरूले १०० गिगाबिट प्रति सेकेन्ड (जीबीपीएस) भन्दा बढी इन्टरनेट गति लिन सक्ने प्रोटोटाइप सिक्सजी चिप अनावरण गरेका छन्।
उक्त गति फाइभजीको सैद्धान्तिक अधिकतम भन्दा लगभग १० गुणा छिटो भएको र आज धेरैजसो प्रयोगकर्ताहरूले अनुभव गर्ने औसत गतिभन्दा लगभग ५०० गुणा छिटो भएको जनाइएको छ।
पेकिङ युनिभर्सिटी, सिटी युनिभर्सिटी अफ हङकङ र युनिभर्सिटी अफ क्यालिफोर्निया, सान्ता बारबराका अनुसन्धानकर्ताहरूको सहकार्यमा विकसित गरिएको अग्रगामी चिपको बारेमा हालै नेचर जर्नलमा विस्तृत रूपमा प्रस्तुत गरिएको एनडीटिभीले रिपोर्ट गरेको छ।
यो सफलतालाई विशेष रूपमा उल्लेखनीय बनाउने कुरा चिपको सानो फुटप्रिण्ट (पदचिह्न) हो जुन केवल ११ गुणा १.७ मिलिमिटर मापन गरिएको छ।
यो सानो प्याकेजभित्र, डिभाइसले ०.५ गिगाहर्ज देखि ११५ गिगाहर्ज सम्मको अल्ट्रा–ब्रोड फ्रिक्वेन्सी ब्यान्डमा काम गर्न सक्ने बताइएको छ जुन सामान्यतया धेरै फरक कम्पोनेन्टहरू र रेडियो ब्यान्डहरू आवश्यक पर्ने उपलब्धि हो।
यसको रहस्य भनेको एउटा नयाँ इलेक्ट्रो–अप्टिक मोड्युलेटरमा रहेको बताइएको छ जसले रेडियो सिग्नलहरूलाई कुशलतापूर्वक अप्टिकल सिग्नलहरूमा रूपान्तरण गर्दछ।
अल्ट्रा–वाइड स्पेक्ट्रममा फ्रिक्वेन्सीहरू पुनः उत्पन्न गर्ने अप्टोइलेक्ट्रोनिक ओसिलेटरहरूसँग जोडिएको यो नवप्रवर्तनले चिपलाई तीव्र सिक्सजी–क्लास पर्फर्मेन्सलाई समर्थन गर्न सघाउँछ।
“सिक्सजी विकासका चुनौतीहरूलाई तत्काल सम्बोधन गर्न आवश्यक छ” पेकिङ युनिभर्सिटीका प्राध्यापक वाङ झिङजुनले एक समाचार विज्ञप्तिमा भने।
“कनेक्टेड डिभाइस (जडित उपकरणहरू)को माग द्रुत गतिमा बढ्दै जाँदा, अर्को पुस्ताका नेटवर्कहरूले विभिन्न फ्रिक्वेन्सी ब्यान्डहरूको शक्तिको लाभ उठाउनुपर्छ। मिलिमिटर–वेभ र टेराहर्ज जस्ता उच्च–फ्रिक्वेन्सी ब्यान्डहरूले अत्यन्त ठूलो ब्यान्डविथ र अल्ट्रा–लो लेटेन्सी प्रदान गर्छन्, जसले तिनीहरूलाई भर्चुअल रियालिटी र शर्जिकल प्रक्रियाहरू जस्ता एप्लिकेसनहरूको लागि उपयुक्त बनाउँछ” उनले थप उल्लेख गरे।
तुलनाको लागि, फाइभजी नेटवर्कहरू आदर्श परिस्थितिहरूमा १० जीबीपीएसमा म्याक्स आउट (अधिकतम) हुन्छन्, यद्यपि अमेरिका जस्ता देशहरूमा व्यावहारिक गति १५० एमबीपीएस र ३०० एमबीपीएस बीचमा हुने जनाइएको छ।
यसको विपरीत, अल्ट्रा–हाई–डेफिनिशन स्ट्रिमिङ, इमर्सिभ मेटाभर्स एप्लिकेसनहरूका साथै अत्यधिक डाटा थ्रुपुटको माग गर्ने एआई–संचालित सेवाहरू सक्षम पार्दै नयाँ चिपले सिक्सजीले साँच्चै कनेक्टिभिटीमा क्रान्ति ल्याउन सक्ने देखाएको छ।
विज्ञहरूले सन् २०३० सम्ममा सिक्सजी नेटवर्कहरू रोल आउट हुने सम्भावना नभएको भनेर बताएका छन्। र त्यस्ता प्रोटोटाइपहरूले भविष्यको इकोसिस्टम निर्माणमा महत्वपूर्ण प्रगतिलाई प्रतिनिधित्व गर्ने उल्लेख गरिएको छ।
विश्वव्यापी डाटाको माग बढ्दै जाँदा, यो सानो चिप जस्ता आविष्कारहरूले अर्को वायरलेस क्रान्तिको लागि मार्ग प्रशस्त गर्न सक्ने एनडीटिभीले रिपोर्ट गरेको छ।
प्रकाशित: २१ भाद्र २०८२, शनिबार