
काठमाडौं ।
नेपालमा समाचार एग्रिगेटर प्लेटफर्मका रुपमा परिचित हाम्रो पात्रोले अब छिट्टै सामाजिक सुविधा थप गर्ने भएको छ। नेपालमा सामाजिक सञ्जालका रुपमा बिहीबार दर्ता प्रक्रिया थालेको कम्पनीले च्याट सुविधासहित अडियो र भिडियो कलको सेवा थप गर्न लागेको हो।
बिहीबार प्लेटफर्मका सञ्चालक शंकर तिवारीले एक्समा पोस्ट राख्दै यस्तो जानकारी दिएका हुन्।
प्रसङ्ग यस्तो थियो
सूचीकरण नभएका सामाजिक सञ्जाल निस्क्रिय बनाउने बिहीबारको निर्णयमा समाचार एग्रिगेटरको रुपमा काम गरिरहेको डिजिटल प्लेटफर्म हाम्रो पात्रो पनि पर्यो। तर सामाजिक सञ्जालको परिभाषामा पर्दैन भन्ने सोचेका कारण कम्पनीले सूचीकरण गरेको थिएन। पछि कम्पनीले आफ्नो नाम निष्क्रिय हुने सूचीमा देखेपछि मन्त्रालयमा सम्पर्क गरेर सूचीकरणका लागि आवेदन दियो र निस्क्रिय हुनबाट जोगियो।
यस सम्बन्धमा बिहीबार हाम्रो पात्रोका सञ्चालक शंकर उप्रेतीले बिहीबार राति ११ बजे लेखे, ‘आज दिउँसो नेपाल सरकारको सामाजिक सञ्जाल बन्द सूचीमा हाम्रो पात्रोको नाम देख्दा हामी अचम्मित भयौँ। स्थिति नजिकैबाट नियाल्दै आएको हाम्रो टोलीले ‘हाम्रो पात्रो’ परिभाषा अनुसार सामाजिक सञ्जाल एप नभएको निष्कर्ष निकालेको थियो, त्यसैले सामाजिक सञ्जाल एपका रूपमा दर्ता गरिएको थिएन।
‘हाम्रो पात्रो’ को दर्तास्थितिबारे केही भ्रम भएको छ। स्पष्ट पार्न चाहन्छौँ—हाम्रो पात्रो सन् २०१६ देखि स्मार्ट आइडियाज प्रा.लि. नाममा नेपालमा दर्ता भई सञ्चालनमा रहेको कम्पनी हो। सयभन्दा बढी समर्पित कर्मचारीहरूको टोलीले विश्वभरका लाखौँ नेपालीलाई जोड्ने देशकै सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म बनाउन निरन्तर काम गरिरहेको छ।
सूची सार्वजनिक भएको बित्तिकै हामीले सम्बन्धित सरकारी अधिकारीसँग सम्पर्क गरेर सामाजिक सञ्जाल एपका रूपमा नाम दर्ता गर्न आवेदन दिएका थियौँ। नेपाल सरकारलाई छिट्टै हाम्रो पात्रोलाई प्रतिबन्ध सूचीबाट हटाइदिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छौँ, साथै हाम्रो नेतृत्व टोलीलाई छिटो कदम चाल्नुभएकोमा आभार प्रकट गर्छौँ।
हाम्रो पात्रो अहिले छ र भविष्यमा पनि रहनेछ। हाम्रो उद्देश्य उही छ—सबै नेपालीलाई जहाँसुकै भए पनि जोड्ने। अब हामी उत्साहित भएर भन्न चाहन्छौँ, यो एपमा सामाजिक सुविधा थप गर्ने समय आएको छ—छिट्टै च्याट सुविधा सहित अडियो र भिडियो कल पनि सुरु हुँदैछ। प्रतीक्षा गर्नुहोस्!
आफ्नै प्लेटफर्म निष्क्रिय भएको प्लेटफर्म हाम्रो पात्रोका अर्का सञ्चालक रुद्र पाण्डेले भने बिहीबार बेलुका १० बजेतिर एक्समा एउटा स्टाटस राख्दै विदेशी सामाजिक सञ्जाल प्लेटफर्महरुलाई नेपालमा दर्ता हुनुपर्ने सूचना निकालेर सही काम गरेको विचार व्यक्त गरेका थिए। यदि तिनीहरुले नेपालमा दर्ता हुन मानेनन् भने चल्न दिनु नहुने उनको आशय थियो। ‘उनीहरुले नियम पालना गर्नेछन् भन्ने मलाई आशा छ। यदि गरेनन् भने अन्य प्लेटफर्मले तिनिहरुलाई विस्थापित गर्नेछन्’, स्टाटसमा लेखिएको थियो।
सामाजिक सञ्जालका रुपमा सूचीकरणको प्रक्रिया अगाडि बढाएको हाम्रो पात्रोका एक सञ्चालकले सामाजिक सञ्जालको सुविधा ल्याउने भनिरहँदा सञ्चालकमध्येका एकले ‘विदेशी प्लेटफर्म सूचीकृत हुनुपर्ने कुरामा सहमति जनाउँदै सूचीकृत नभए अर्को एपले विस्थापित गर्छ’ भन्ने आशय व्यक्त गर्नुले सरकारको कदमले विदेशी प्लेटफर्मलाई फाइदा बेफाइदा जे भए पनि नेपालका प्लेटफर्महरुले आफूलाई विकल्पका रुपमा उभ्याउनका लागि सुवर्ण अवसर सिर्जना गरेको आकलन गर्न सकिन्छ।
प्रकाशित: २० भाद्र २०८२, शुक्रबार