Technology Khabar १६ भाद्र २०८२, सोमबार
काठमाडौं ।
पृथ्वीबाहिर सन्तान जन्माउने सम्भावना छ भन्ने कुरा मुसा सम्बन्धी अध्ययनले देखाएको छ। अन्तरिक्ष यात्राले मानव शरीरको विभिन्न कार्यप्रणालीलाई असर गर्ने गर्छ। त्यसमा प्रजनन प्रणाली पनि पर्छ।
भविष्यमा अन्तरिक्षमै गर्भावस्था र नयाँ पुस्ता जन्माउने प्रक्रियामा के असर पर्छ भन्ने बुझ्नका लागि वैज्ञानिकहरूले प्रजननसम्बन्धी कोशिका र स्टेम सेलहरूलाई विकिरण र सूक्ष्म गुरुत्वाकर्षणजस्ता सम्भावित हानिकारक तत्वहरूले कसरी असर गर्छन् भन्ने कुरा परीक्षण गर्नुपर्छ।
जापानको क्योटो विश्वविद्यालयका अनुसन्धानकर्ताले त्यही परीक्षण गरेका छन्। उनीहरूले मुसाको शुक्राणु उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने स्टेम सेललाई क्रायोप्रिजर्भेसन नामक प्रक्रियाबाट फ्रिज गरेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा ६ महिना राखे।
त्यसपछि ती स्टेम सेलहरूलाई पृथ्वीमा ल्याएर मुसाको वृषणमा पुनः प्रत्यारोपण गरियो। केही महिनापछि स्वाभाविक मैथुन प्रक्रियाबाट स्वस्थ बच्चा मुसाहरू जन्मिए, जसको जीन अभिव्यक्ति सामान्य देखियो।
स्पेस डटकमका अनुसार अनुसन्धानकर्ताहरूले अन्तरिक्ष यात्राले स्टेम सेलहरूलाई दीर्घकालीन रूपमा सुरक्षित राख्ने क्षमतामा असर नगरेको देख्दा खुशी व्यक्त गरेका छन्। अध्ययनका प्रमुख लेखक क्योटो विश्वविद्यालयका मितो कनात्सु-शिनोहारा भन्छन्, “भविष्यको अन्तरिक्ष यात्राका लागि स्टेम सेललाई कति समयसम्म सुरक्षित राख्न सकिन्छ भन्ने बुझ्न यस्तो परीक्षण महत्त्वपूर्ण छ।”
तर अन्तरिक्षमा मानव प्रजनन अझै अनचिनिएको क्षेत्र हो। अनुसन्धानकर्ताहरूले भनेका छन्, ‘भ्रूणलाई फ्रिज गर्ने प्रविधि जस्तो पृथ्वीमा सफल प्रजनन प्रविधिको प्रयोग अन्तरिक्षमा सीमित हुन सक्छ, किनभने भ्रूणीय कोशिका अन्तरिक्षमा विशेष संवेदनशील हुने र विकासमा समस्या देखिने अनुसन्धानले जनाएका छन्।’
अध्ययनमा सहभागी वैज्ञानिकहरूले शुक्राणु उत्पादन सहयोग गर्ने सेलभन्दा प्रत्यक्ष शुक्राणुलाई नै फ्रिज-ड्राइ गर्ने प्रक्रिया सन्तानमा स्वास्थ्य जोखिम उत्पन्न गर्न सक्ने भएकाले अझ बढी अनुसन्धान आवश्यक भएको बताएका छन्। हालसम्म अन्तरिक्षमा गर्भावस्था सम्बन्धी अध्ययन जनावरमै सीमित छ र अन्तरिक्ष यात्रा गर्ने महिलाको संख्या कम भएकाले प्रजनन सम्बन्धी अनुसन्धान पनि अझै अपूरो छ।
अध्ययनले लामो अन्तरिक्ष यात्रालाई सुरक्षित बनाउन प्रजनन स्वास्थ्यसम्बन्धी प्रविधि महत्त्वपूर्ण हुने देखाएको छ। यद्यपि महिनावारी चक्रको रगत आउने चरणलाई अन्तरिक्ष यात्राले खासै असर नगरेको अनुसन्धानले देखाएको भए पनि अण्डा परिपक्व हुने र अण्डोत्सर्जन हुने प्रक्रियामा सूक्ष्म गुरुत्वाकर्षण र विकिरणको असरबारे अझै अध्ययन गर्नुपर्ने वैज्ञानिकहरूको भनाइ छ।
यो अनुसन्धानको नतिजा गत अगस्ट महिनामा स्टेम सेल रिपोर्ट्स नामक जर्नलमा प्रकाशित भएको हो।
प्रकाशित: १६ भाद्र २०८२, सोमबार