
काठमाडौं ।
यूरोपको स्टक बजार बुधबार केही सुधारका साथ बन्द भयो। अघिल्लो दिनको गिरावटपछि लगानीकर्ताले फ्रान्समा बढ्दै गएको राजनीतिक जोखिमतर्फ ध्यान दिएका र कृत्रिम बुद्धिमत्ता चिप उत्पादक एनभिडियाको आम्दानी परिणाम पर्खेका थिए।
प्यान-युरोपेली स्टोक्स ६०० सूचकांक ०.१ प्रतिशतले बढ्दै बन्द भएको हो। यसअघि यसले करिब एक महिनामै सबैभन्दा ठूलो गिरावट दर्ता गरेको थियो। तर अधिकांश अन्य क्षेत्रीय बजारहरू भने रातामै बन्द भए।
रोयटर्सका अनुसार फ्रान्सका प्रधानमन्त्री फ्राँस्वाँ बैरूको सरकारले आगामी महिना ढल्ने सम्भावनाले मंगलबार बजारमा तीन साताको न्यूनतम स्तर ल्याएको थियो। तीन प्रमुख विपक्षी दलहरूले बैरूको विश्वास प्रस्तावलाई समर्थन नगर्ने बताएका छन्।
उनले सेप्टेम्बर ८ मा विश्वासको मत लिने घोषणा गरेका थिए। यदि सरकार ढलेमा राष्ट्रपति इम्यानुएल म्याक्रोंले नयाँ प्रधानमन्त्री नियुक्त गर्न सक्ने, बैरूलाई कार्यवाहक प्रमुखको रूपमा कायम राख्न सक्ने वा चाँडै चुनाव आह्वान गर्न सक्नेछन्।
“देशभित्रका बैंक, युटिलिटी र व्यवसाय सेवाहरूमा धेरै कुरा पहिले नै मूल्यमा परिलक्षित भइसकेको छ। तर अनिश्चितता केही हप्तासम्म रहने अपेक्षा छ,”अलायञ्ज ग्लोबल इन्भेस्टर्सका इक्विटी पोर्टफोलियो प्रबन्धक क्रिष्टोफ हाउटिनले बताएका छन्।
लगानीकर्ताले विश्वकै सबैभन्दा मूल्यवान कम्पनी एनभिडियाको आम्दानी परिणाम पर्खिरहेका छन्। अगस्टमा प्राविधिक शेयरहरूमा आएको तीव्र उछालमा ब्रेक लागेको थियो। युरोपेली कम्पनीहरूको दोस्रो त्रैमासिक नतिजामध्ये हालसम्म विश्लेषकहरूको अनुमानभन्दा ५२ प्रतिशत बढीले नाफा देखाएका छन्।
“लगानीकर्ताले विगत केही महिनामा भन्सार दर र अनिश्चितताले व्यवसायिक विश्वास कति असर गरेको छ भन्ने मूल्यांकन गर्न चाहेका छन्। तर युरोपको समग्र आर्थिक दृष्टिकोण बलियो देखिन्छ,”आईसीजीका अर्थतन्त्र तथा लगानी अनुसन्धान प्रमुख निकोलस ब्रुक्सले भने।
बैंकिङ क्षेत्र १.३प्रतिशत ले घट्दै सबैभन्दा ठूलो घाटामा रह्यो। जर्मनीका डोयच बैंक र कोमर्जबैंकको शेयर क्रमशः ३.४ प्रतिशत र ४.९ प्रतिशतले ओरालो लागेको छ। यसअघि गोल्डमन स्याक्सले तिनीहरूको मूल्याङ्कन घटाएको थियो।
दोसरीतर्फ व्यक्तिगत तथा घरेलु सामान क्षेत्र १.५प्रतिशत ले बढ्यो। विलासी सामानको शेयर अगाडि रहेर करिब एक महिनाको उच्चतामा पुगे। स्वाचको शेयर ६.३प्रतिशत ले बढ्दै स्टोक्स ६०० मा सबैभन्दा माथि रह्यो। अमेरिकी भन्सारको प्रभावलाई मूल्य बढाएर केही हदसम्म सम्हाल्ने कम्पनीको योजना भएको सिईओले बताएका थिए।
तर इटालीको मेडिकल डायग्नोस्टिक्स कम्पनी डियासोरिन ५.८ प्रतिशत ले घट्यो। जेपी मोर्गनले यसलाई “अन्डरवेट” मा वर्गीकरण गर्दै प्रतिकूल मूल्याङ्कन दिएको थियो। यस्तै जेडी स्पोर्ट्सको शेयर ३.६ प्रतिशतले बढ्यो। यसले अमेरिकामा बिक्री सुधारिएको संकेत देखाएको थियो।
प्रकाशित: १३ भाद्र २०८२, शुक्रबार