दूरसंचार प्राधिकरणको कार्यबाहक अध्यक्षमा पुरुषोत्तम खनाल‍ नियुक्त

Technology Khabar २८ माघ २०७५, सोमबार

काठमाडौं ।

अनुज राज ढुङ्गेल । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पहिलो पटक कार्यबाहक अध्यक्ष पाएको छ । दूरसंचार प्राधिकरणका वर्तमान निमित्त प्रमुख पुरुषोत्तम खनाललाई सरकारले कार्यबाहक अध्यक्षको जिम्मेबारी दिएको छ।

उनलाई मन्त्रिपरिषदको निर्णयअनुसार संचार तथा सूचना प्रविधि मन्त्रालयले कार्यबाहक अध्यक्षको जिम्मेबारी दिएको पत्र पठाएको छ । उनीसहित प्राधिकरणका ४ बोर्ड सदस्यहरु तथा अर्का वरिष्ठ निर्देशक आनन्द राज खनाललाई मन्त्रालयले कार्यबाहक अध्यक्षको लागि नियुक्त गर्न सिफारीस गरेको थियो । मन्त्रिपरिषदले पुरुषोत्तम खनाललाई कार्यबाहक अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो ।

‘मन्त्रालयले प्राधिकरणका निमित्त प्रमुख खनाललाई कार्यबाहक अध्यक्षको जिम्मेबारीसहितको पत्र पठाईसकेको छ, संसोधित दूरसंचार नियमावलीअनुसार नै कार्यबाहक अध्यक्षले जिम्मेबारी निभाउनुपर्नेछ,’ मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

मन्त्रालयले पठाएको पत्र सोमबार नै प्राधिकरणको कार्यालयमा पुगेको छ । तर सो पत्र आफूले अझै नबुझिसकेको निमित्त प्रमुख खनालले जानकारी दिए ।

‘मन्त्रालयको पत्र प्राधिकरणमा आईपुगेको जानकारी पाएको छु, तर मैले बुझिसकेको छैन्,’ खनालले टेक्नोलोजीखबरसँग भने ।

निमित्त खनालले सो पत्र बुझेसँगै कार्यबाहक अध्यक्षको जिम्मेबारी बहन गर्नेछन भने उनलाई प्राधिकरणको बोर्ड बैठक राख्नेसहितको कार्यकारी अधिकार समेत हुनेछ।

मन्त्रालयले उनलाई नयाँ अध्यक्ष चयन नहुन्जेलसम्म बढिमा ६ महिनासम्मको लागि कार्यबाहक अध्यक्षको जिम्मेबारी तोकेको छ ।

यसअघि मन्त्रालयले प्राधिकरणमा अध्यक्ष रिक्त रहेको बेलामा कार्यबाहक अध्यक्ष राख्न सकिने गरि दूरसंचार नियमावली २०५४ को आठौं संसोधन गरेको थियो । सो संसोधनअनुसार अध्यक्ष नभएको अवस्थामा बढिमा ६ महिनासम्मका लागि बोर्ड सदस्यहरु वा वरिष्ठ निर्देशकहरुमध्येबाट कार्यबाहक अध्यक्ष तोक्न सकिने प्रावधान राखिएको छ ।

यसअघिका अध्यक्ष दिगम्बर झाले पुस ११ गते राजीनामा दिएसँगै प्राधिकरणमा अध्यक्ष खाली रहेको थियो भने प्राधिकरणको बोर्ड बैठक बस्न नसक्दा दिर्घकालिन योजनासहितका विभिन्न कामकारबाहीहरु अगाडि बढ्न सकेका थिएनन् ।

झाको राजीनामासँगै वरिष्ठ निर्देशक खनालले प्राधिकरणको निमित्त प्रमुखको रुपमा काम गर्दै आएका थिए ।

प्रकाशित: २८ माघ २०७५, सोमबार

तपाइको प्रतिक्रिया