जापानले सञ्चालनमा ल्यायो आफ्नै उपकरण प्रयोग गरेर डिजाइन र निर्माण गरिएको पहिलो क्वान्टम कम्प्युटर

Technology Khabar ११ भाद्र २०८२, बुधबार

काठमाडौं ।

जापानले आफ्नै उपकरण प्रयोग गरेर डिजाइन र निर्माण गरिएको पहिलो क्वान्टम कम्प्युटर सञ्चालनमा ल्याएको छ। यो प्रणाली हाल ओसाका विश्वविद्यालयको सेन्टर फर क्वान्टम इन्फर्मेसन एन्ड क्वान्टम बायोलोजी (क्यूआईक्यूबी) मा राखिएको छ र विभिन्न कार्यभार सम्हाल्न तयार भएको छ।
यो नयाँ प्रणाली जुलाई २८ मा सञ्चालनमा आएको हो। यसअघि प्रयोग गरिएका सबै आयातित उपकरणलाई हटाएर जापानमै बनेका प्रविधि प्रयोग गरिएको ओसाका विश्वविद्यालयले जनाएको छ।
यसले जापानमै विकास गरिएको खुला स्रोत सफ्टवेयर “ओपन क्वान्टम टुलचेन फर अपरेटर एन्ड युजर्स (अक्टोपस)” मा आधारित भएर काम गर्नेछ।
लाइभसाइन्सका अनुसार प्रणालीमा सुपरकन्डक्टिङ क्युबिट्स भएको क्वान्टम चिप प्रयोग गरिएको छ। यस्ता क्युबिट्स धातुबाट बनेका हुन्छन् जसले पूर्ण शून्य नजिकको तापक्रम (–२७३.१५ डिग्री सेल्सियस) मा चिस्याएपछि शून्य विद्युत प्रतिरोध देखाउँछन् । क्वान्टम प्रोसेसिङ युनिट (क्यूपीयू) जापानी अनुसन्धान संस्था राइकेनले विकास गरेको हो।
“श्यान्डेलियर” भनिने मुख्य संरचनामा चिप प्याकेज (सेइकेनले आपूर्ति गरेको), म्याग्नेटिक शिल्ड, इन्फ्रारेड फिल्टर, ब्यान्डपास फिल्टर, लो–न्वाइज एम्प्लिफायर र विभिन्न तारजस्ता उपकरणहरू समावेश छन्। यी सबैलाई अति कम तापक्रम कायम गर्न विशेष प्रकारको क्रायोजेनिक उपकरण ‘डिलुसन रेफ्रिजरेटर’ मा राखिएको छ। यसमा पल्स ट्युब रेफ्रिजरेटर, कन्ट्रोलर र लो–न्वाइज पावर स्रोत पनि समावेश छन्।
अक्टोपस भनेको खुला स्रोत उपकरणहरूको संग्रह हो जसले क्वान्टम प्रोग्राम चलाउन आवश्यक सबै सुविधा दिन्छ। यसमा कोर इन्जिन, क्लाउड मोड्युल, ग्राफिकल युजर इन्टरफेसलगायतका सुविधा समावेश छन्।

क्वान्टम कम्प्युटिङलाई कम्प्युटिङको नयाँ सीमाको रूपमा हेरिन्छ। यसले विश्वकै शक्तिशाली सुपरकम्प्युटरलाई पनि उछिन्न सक्ने र आजको प्रविधिले सम्भव नभएका जटिल गणना र सिमुलेसन गर्न सक्ने अपेक्षा गरिएको छ।

वैज्ञानिकहरूको अनुमानमा यस प्रविधि औषधि खोज, शहरी यातायात व्यवस्थापन, ढुवानी कम्पनीका लागि सर्वोत्तम मार्ग पत्ता लगाउन लगायतका क्षेत्रमा उपयोगी हुन सक्छ।

यसले गणना अनुक्रमिक नभई समानान्तर रूपमा गर्ने भएकाले बढी क्युबिट थपिँदा प्रणाली अझ शक्तिशाली हुन्छ। तर धेरै क्युबिट थप्दा हुने उच्च त्रुटि दरलाई कम गर्ने चुनौती अझै बाँकी छ। यही कारण अहिले धेरै अनुसन्धान ‘क्वान्टम त्रुटि सुधार’ मा केन्द्रित भएको छ।

जापानको पहिलो क्वान्टम कम्प्युटरलाई ओसाकामा साउन २९ देखि भदौ ४ सम्म आयोजित एक्स्पो २०२५ मा प्रदर्शनी गरिएको थियो। प्रदर्शनीमा यसको प्रमुख उपकरणहरू देखाइएका थिए।

आगन्तुकहरूले क्लाउडमार्फत प्रणालीमा जडान भएर साधारण क्वान्टम प्रोग्राम चलाउन सकेका थिए। त्यस्तै क्वान्टम एन्ट्याङ्गलमेन्टलगायतका घटनाहरू बुझ्न अन्तरक्रियात्मक सुविधा पनि राखिएको लाइभसाइन्सले उल्लेख गरेको छ।

प्रकाशित: ११ भाद्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया