ताजा समाचार

इन्टेलमा १० प्रतिशत हिस्सेदारी लिने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

इन्टेलमा १० प्रतिशत हिस्सेदारी लिने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा
Global IME Bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इन्टेलमा १० प्रतिशत हिस्सेदारी लिने घोषणा गरेका छन्। संघर्षरत चिप निर्माता कम्पनीसँग भएको सम्झौता अनुसार सरकारले दिने अनुदानलाई इक्विटीमा रूपान्तरण गरिनेछ। यो कदम अमेरिकामा कम्पनीहरूसँग गरिएको ह्वाइट हाउसको पछिल्लो असामान्य हस्तक्षेप मानिएको छ।

यो सम्झौतापछि इन्टेलका सीईओ लिप-बु टानसँग ट्रम्पको सम्बन्ध सुध्रिएको छ। केही समयअघि मात्र ट्रम्पले टानलाई चिनियाँ कम्पनीहरूसँगको सम्बन्धका कारण पदबाट हट्नुपर्ने बताएका थिए। सम्झौताले इन्टेललाई अमेरिकामा कारखाना विस्तार तथा निर्माणका लागि करिब १० अर्ब डलर उपलब्ध गराउनेछ।

सम्झौताअनुसार अमेरिकी सरकारले ८.९ अर्ब डलरमा ९.९ प्रतिशत हिस्सेदारी, अर्थात् ४३३.३ मिलियन शेयर किनेको छ। प्रति शेयर मूल्य २०.४७ डलर पर्छ, जुन शुक्रबारको बजार मूल्य २४.८० डलरभन्दा करिब ४ डलर कम हो।

यो खरिदका लागि बाइडेन प्रशासनको समयमा सुरु गरिएको चिप्स एक्ट अन्तर्गतका ५.७ अर्ब डलर अनुदान र सुरक्षित इन्क्लेभ कार्यक्रमअन्तर्गत दिइएको ३.२ अर्ब डलर प्रयोग गरिएको हो। समाचार बाहिरिएपछि इन्टेलको शेयर मूल्य नियमित कारोबारमा ५.५ प्रतिशत बढेको थियो भने शुक्रबारको विस्तारित कारोबारमा झण्डै १ प्रतिशतले बढ्यो।

शुक्रबार ट्रम्प र सीईओ टानबीच भेटवार्ता भएको ह्वाइट हाउसले जनाएको छ। यसअघि अगस्त ११ मा भएको भेटमा ट्रम्पले टानलाई राजीनामा दिन दबाब दिएका थिए। “उनी जागिर बचाउन आए, तर अन्ततः हामीले अमेरिकाका लागि १० अर्ब डलर पायौँ। त्यसैले हामीले १० अर्ब कमायौँ,” ट्रम्पले भने।

व्यापार सचिव हावर्ड लुटनिकले एक्समा लेख्दै टानले गरेको सम्झौता “इन्टेल र अमेरिकी जनताका लागि न्यायपूर्ण” भएको बताएका छन्।

यो लगानी ट्रम्प प्रशासनको असामान्य सम्झौतामध्ये एक हो। यसअघि एनभिडियालाई चीनमा एच२० चिप बेच्न अनुमति दिने सर्तमा अमेरिकी सरकारले बिक्रीको १५ प्रतिशत हिस्सा लिने सम्झौता गरेको थियो। त्यस्तै, पेन्टागनले दुर्लभ म्याग्नेट उत्पादन बढाउन एमपी मटेरियल्समा सबैभन्दा ठूलो हिस्सेदार बन्ने निर्णय गरेको थियो।

यस किसिमका हस्तक्षेपले नयाँ प्रकारको जोखिम सिर्जना गर्ने आलोचकहरूको भनाइ छ। यसअघि सोमबार जापानको सोफ्टबैंकले पनि इंटेलमा २ अर्ब डलरको हिस्सेदारी लिने घोषणा गरेको थियो। तर, विश्लेषकहरूले अझै पनि इन्टेलका समस्या केवल लगानीले समाधान हुनेमा शंका व्यक्त गरेका छन्।

साइनोभस ट्रस्टका वरिष्ठ पोर्टफोलियो प्रबन्धक ड्यानियल मोर्गनका अनुसार इन्टेलको मुख्य समस्या यसको फाउन्ड्री व्यवसाय हो। उनका अनुसार “सरकारी सहयोग वा बलियो साझेदारबिना इन्टेलले नयाँ फ्याब विस्तार गर्न पर्याप्त पूँजी जुटाउन गाह्रो पर्छ।” उनले थपे, इन्टेलले ग्राहक आकर्षित गर्न प्रविधिगत हिसाबले टीएसएमसीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

Sajilo Visa
easy care