ताजा समाचार

मस्कको मेगारकेटको असफलतापछि नयाँ महत्त्वपूर्ण परीक्षणको तयारी

मस्कको मेगारकेटको असफलतापछि नयाँ महत्त्वपूर्ण परीक्षणको तयारी
फाइल तस्बिर
Global IME Bank

इलन मस्कको स्पेसएक्स आइतबार आफ्नो स्टारसिप मेगारकेटको अर्को परीक्षणका लागि तयार भइरहेको छ। हालैका असफलताहरूले यसको व्यवहार्यतामाथि प्रश्न उठाइरहेका बेला यो उडानलाई निकै महत्त्वपूर्ण मानिएको छ।

विश्वकै सबैभन्दा शक्तिशाली प्रक्षेपण वाहन दक्षिणी टेक्सासको स्टारबेसबाट आज स्थानीय समय साँझ ६ः३० बजे (२३३० जिएमटी अर्थात नेपाली समयअनुसार सोमबार बिहान करिब ५:१५ बजे) १०औँ उडानका लागि प्रस्थान गर्ने योजना छ।

यस मिसनको लक्ष्य रकेटलाई परीक्षणहरूको शृङ्खलाबाट गुजार्दै विश्वको आधा बाटो उडाएर अन्ततः हिन्द महासागरमा खसाल्ने हो। यस पटक भने कम्पनीले प्रक्षेपण टावरको विशाल ‘चपस्टिक’ हात प्रयोग गरी बुस्टर समात्ने प्रयास नगर्ने बताइएको छ।

स्टारसिप मस्कको मङ्गल ग्रह उपनिवेश योजनाको केन्द्र हो। नासाले पनि यसलाई संशोधित संस्करणमार्फत आर्टेमिस चन्द्र ल्यान्डरको रूपमा प्रयोग गर्ने तयारी गरेको छ।

तर सन् २०२५ मा भएका सबै तीन परीक्षण उडानहरू दुई पटक क्यारिबियन टापु नजिक र एक पटक अन्तरिक्ष पुगेपछि माथिल्लो चरण विस्फोटमा समाप्त भएका छन् । यसै वर्ष, ‘स्टाटिक फायर’ परीक्षणमा जमिनमै अर्को माथिल्लो चरण विस्फोट भएको थियो।

स्पेसएक्सले अपनाएको ‘फेल फास्ट, लर्न फास्ट’ संस्कृतिले कम्पनीलाई फाल्कन रकेट परिवारमार्फत प्रक्षेपण उद्योगमा अग्रणी बनाएको थियो। तर स्टारसिपका लगातार अवरोधहरूले यसै किसिमको सफलता दोहोर्याउन सक्ने क्षमतामा शङ्का उत्पन्न गरेको छ।

दबाब बढ्दै

एनालाइसिस मेसनका अन्तरिक्ष विज्ञ डलास कासाबोस्कीले भने, “यो मिसनमा निकै दबाब छ। धेरै परीक्षण भए तर अझै भरपर्दो साबित भएको छैन-असफलताहरू नै बढी छन् ।”

पूर्व इन्जिनियर एवं विश्लेषक विल लकेटले भने, “भारी पेलोड परीक्षणको कमीले स्टारसिपको अवधारणामै समस्या देखाउँछ।”

उनका अनुसार, स्पेसएक्सले पुनः प्रयोगयोग्य बनाउन हल्का बनाइएका स्टारसिपहरू आवश्यकताभन्दा कमजोर भएका छन्, जसले हालैका परीक्षणहरूमा संरचनात्मक असफलता निम्त्याएको हो ।

यसैबीच, ‘के इलन मस्कको स्टारसिप बर्बाद भयो ?’ जस्ता हेडलाइनहरूले ध्यान तानेका छन्।

मस्कले कम्पनीको भविष्य नै स्टारसिपमा लगानी गरेका छन र अन्ततः हालका रकेट तथा अन्तरिक्ष यानलाई अवकास दिन चाहन्छन्।

दशौँ परीक्षण सफल भए पनि, प्रणालीलाई पूर्ण पुनः प्रयोगयोग्य बनाउने, कक्षमा सुपर–कुल्ड इन्धन भर्ने र गहिरो अन्तरिक्ष मिसन सम्भव बनाउन अझै ठूलो प्राविधिक चुनौती बाँकी छ।

यद्यपि स्पेसएक्सले प्रक्षेपणको आवृत्ति बढाउँदैछ । वातावरणीय समूहहरूको आलोचनाका बीच फ्लोरिडामा नयाँ प्रक्षेपण र अवतरण सुविधा निर्माण पनि भइरहेको छ। रासस/एएफपी

Sajilo Visa
easy care