Technology Khabar ४ भाद्र २०८२, बुधबार
काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्स र दक्षिण कोरियाको ब्रिज इन्टरनेशनलबीच कृषि व्यवसाय विस्तार र साना तथा मझौला उद्यमको विकासका लागि सहकार्य गर्ने सम्झौता भएको छ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार आयोजित कार्यक्रममा चेम्बरको कृषि, जडिबुटी तथा वन समितिका सभापति कृष्णमान श्रेष्ठ र ब्रिज इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत जीनसोल वाङले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौतामा दुवै पक्षले कृषि तथा उद्यमशीलतासम्बन्धी जानकारी आदानप्रदान गर्ने, नेपालको बजार अवस्था र व्यवसायिक सम्भावनाबारे संयुक्त अध्ययन गर्ने विषयहरू समावेश गरिएका छन्।
ब्रिज इन्टरनेशनलले नेपालको नवप्रवर्तन व्यवसायलाई केन्द्रदेखि स्थानीय तहसम्म प्राविधिक सहयोग पुर्याउने सम्झौतामा उल्लेख गरिएको छ । त्यस्तै, नेपाल र कोरियाका स्टार्टअपहरूले उत्पादन गरेका वस्तुहरूको प्रदर्शनी र प्रवर्द्धन गर्ने, व्यावसायिक नेटवर्किङका अवसर सिर्जना गर्ने, साथै मेन्टरसिप र सीप आदानप्रदान गर्ने सहमति भएको छ। दुई संस्थाबीच संयुक्त कार्यशाला, प्रशिक्षण र अनुभव आदानप्रदान मार्फत दुवै देशका नवप्रवर्तन व्यवसायीलाई लाभ हुने विश्वास गरिएको चेम्बरले जनाएको छ।
यसैगरी, दुवै देशका व्यवसायी तथा उद्यमशील युवाबीच एक अर्काका देशमा भ्रमण मार्फत व्यवसाय प्रवर्द्धन गर्ने, एक अर्काको बजारमा सम्भाव्यताका अवसर खोज्ने र नयाँ सम्भावनाहरू विकास गर्ने योजना पनि सम्झौतामा उल्लेख छ। साथै, कोरियाबाट सीप सिकेर फर्किएका युवाहरूको लगत संकलन गरी उनीहरुको उद्यमशीलता क्षमता अभिवृद्धि र व्यवसायिक सञ्जाल विस्तारमा नेपाल चेम्बर अफ कमर्सले सहयोग गर्ने भएको छ।
खासगरी कृषि व्यवसाय, जडिबुटी तथा बन, र साना–मझौला उद्यम विकासलाई प्राथमिकतामा राख्दै गरिएको यो सहकार्य सम्झौताले नेपालमा उद्यमशीलताको वातावरणलाई थप मजबुत बनाउने चेम्बरले विश्वास व्यक्त गरेको छ। यस सम्झौताले नेपाली कृषक, उद्यमी र नवप्रवर्तन व्यवसायीलाई अन्तर्राष्ट्रिय अनुभव र सीप सिक्ने अवसर दिलाउने मात्र नभई, दुवै देशबीच दीगो आर्थिक साझेदारीको बाटो खोल्ने अपेक्षा गरिएको छ ।
प्रकाशित: ४ भाद्र २०८२, बुधबार