ओपनएआईद्वारा भारतका लागि मात्रै उपलब्ध हुने नयाँ सदस्यता योजना च्याटजीपीटी गो सार्वजनिक

Technology Khabar ५ भाद्र २०८२, बिहीबार

काठमाडौं ।

च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले मङ्गलबार भारतका लागि मात्रै उपलब्ध हुने नयाँ सदस्यता योजना च्याटजीपीटी गो सार्वजनिक गरेको छ।

यसको मूल्य प्रति महिना ३९९ भारतीय रूपैयाँ (४.५७ अमेरिकी डलर) तोकिएको छ, जुन कम्पनीको हालसम्मकै सबैभन्दा सस्तो योजना हो। यसमार्फत ओपनएआईले आफ्नो दोस्रो ठूलो बजारमा उपस्थिति अझ गहिरो बनाउन खोजेको हो।

विश्वका ठूला कम्पनीहरूले प्रायः मूल्य संवेदनशील बजार मानिने भारतका लागि सस्ता सदस्यता योजना ल्याउने गर्छन्, जसले विश्वकै सबैभन्दा ठूलो जनसंख्या भएको देशका करिब एक अर्ब इन्टरनेट प्रयोगकर्तालाई लक्षित गर्ने रोयटर्सले उल्लेख गरेको छ।

नयाँ योजनामा प्रयोगकर्ताले निःशुल्क संस्करणको तुलनामा दश गुणा बढी सन्देश पठाउन, दश गुणा बढी तस्वीर बनाउन र छिटो प्रतिक्रिया समय पाउन सक्नेछन्।

उच्चस्तरका सदस्यता योजनामा सन्देश पठाउने सीमा अझ बढ्ने जनाइएको छ। माइक्रोसफ्ट समर्थित स्टार्टअप ओपनएआईले विज्ञप्तिमा भनेको छ, “च्याटजीपीटी गो भारतका प्रयोगकर्तालाई सस्तो मूल्यमा च्याटजीपीटीको उन्नत क्षमतामा अझ बढी पहुँच दिन डिजाइन गरिएको हो।”

भारतमा च्याटजीपीटीको उच्चतम संस्करण च्याटजीपीटी प्रोको मूल्य प्रति महिना १९,९०० रूपैयाँ तोकिएको छ भने मध्यमस्तरको च्याटजीपीटी प्लसको मूल्य १,९९९ रूपैयाँ छ। यसअघि यस वर्ष, सीईओ स्याम आल्टम्यानले भारतका सूचना प्रविधि मन्त्रीसँग भेट गरी कम मूल्यमा एआई इकोसिस्टम विकास गर्ने योजनाबारे छलफल गरेका थिए।

कम्पनीका सीईओ अल्टम्यानले भारत प्रयोगकर्ताको संख्यामा अमेरिका पछिको दोस्रो ठूलो बजार भएको र चाँडै नै सबैभन्दा ठूलो बन्न सक्ने बताएका छन्।

प्रकाशित: ५ भाद्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया