Technology Khabar ३ भाद्र २०८२, मंगलवार
काठमाडौं ।
नासाले लामो अन्तरिक्ष यात्रामा खगोलयात्रीलाई सहयोग गर्न सक्ने एआई–आधारित मेडिकल सहायक परीक्षण गर्न गुगलसँग सहकार्य गर्ने भएको छ। पृथ्वीसम्बन्धी सञ्चारमा ढिलाइ हुने कारण तत्कालै चिकित्सकीय सल्लाह असम्भव हुने अवस्थालाई ध्यानमा राखेर यो पहल गरिएको हो।
नासाले आफ्नो आर्टेमिस कार्यक्रममार्फत मानव अन्तरिक्ष यात्राको नयाँ युगमा प्रवेश गर्ने प्रतिबद्धतासहित गुगलसँग मिलेर ‘क्रु मेडिकल अफिसर डिजिटल असिस्टेन्ट’ (सीएमओ डीए) नामक ‘क्लिनिकल डिसिजन सपोर्ट सिस्टम’ (सीडीएसएस) को प्रारम्भिक परीक्षण गर्दैछ।
लाइभसाइन्सा अनुसा यो डिजिटल सहायकले चन्द्रमा वा मंगल मिसनजस्ता निम्न–पृथ्वी कक्षाभन्दा बाहिर अन्तरिक्षयात्रीलाई स्वायत्त रूपमा लक्षणको पहिचान र उपचार गर्न मद्दत गर्नेछ।
“अन्तरिक्ष यात्रासम्बन्धी साहित्यमा प्रशिक्षित, यो एआई प्रणालीले अत्याधुनिक नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ र मेसिन लर्निङ प्रविधि प्रयोग गरी क्रु सदस्यको स्वास्थ्य र कार्यक्षमता सुरक्षित रूपमा वास्तविक समयमा विश्लेषण गर्नेछ,” गुगलले अगस्ट ८ मा जारी वक्तव्यमा जनाएको छ।
वक्तव्यअनुसार, प्रारम्भिक परिणामले रिपोर्ट गरिएका लक्षणका आधारमा विश्वासिलो निदान सम्भव हुने देखाएको छ। नासा र गुगल अहिले चिकित्सकसँग मिलेर मोडेललाई अझ परीक्षण र परिमार्जन गरिरहेका छन्।
गहिरो अन्तरिक्ष यात्रामा, विशेषगरी मंगल ग्रहमा, सञ्चार ढिलाइ ४५ मिनेटसम्म हुनसक्छ, जसले वास्तविक समयको सल्लाह असम्भव बनाउँछ। यस्ता अवस्थामा तत्कालै पृथ्वी फर्कन पनि सम्भव हुँदैन।
त्यसैले, अन्तरिक्ष यानमै उपलब्ध हुने एआई सहायकले महत्वपूर्ण खालीपन पुरा गर्न सक्छ। यस्तो प्रविधि पृथ्वीमै पनि दुर्गम र चुनौतीपूर्ण क्षेत्रमा, जहाँ चिकित्सकको पहुँच सीमित हुन्छ, त्यहाँ उपयोगी हुनसक्ने नासाले जनाएको छ।
प्रकाशित: ३ भाद्र २०८२, मंगलवार